बैतडीमा बजार अनुगमनको कार्यलाई तिव्रता दिइएको छ । चाडपर्व नजिकिए संगै कालोबजारी हुन सक्ने भन्दै बजार अनुगमनलाई तिव्र पारीएको हो । सयुक्त बजार अनुगमन टोलीले जिल्लाको पुर्चाैडी नगरपालिका , सिगास सुर्नया र दोगाडाकेदार गाउँपालिकाका बिभिन्न बजारहरुमा अनुगमन गरेको छ ।
बजार अनुगमनका क्रममा ७० हजार बराबरको म्याद नाघेका , लेवल नभएका अखाद्य बस्तुहरु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शनिवार मात्रै पुर्चाैडी नगरपालिकाको मुख्य ब्यापारीक क्षेत्र हाट बजारको अनुगमनको क्रममा ४१ हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा बढीमात्रामा म्याद नाघेका अखाद्य बस्तुहरु भेटिने गरेका छन् । मुल्य , लेबल अर्थात उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामानहरुलाई बरामद गरि नष्ट गरिएको हो । ‘चालुआर्थिक बर्षको हाल सम्म ४ मेडिकल सहित ७२ वटा पसलहरुमा अनुगमन गरेका छौ’ उहाँले भन्नुभयो ‘म्याद नाघेका र लेवल नभएका ७० हजार बराबरको अखाद्य बस्तुलाई नष्ट गएिको छ ।’ लेवल उल्लेख नगरिएका अखाद्य बस्तुहरुको प्रयोगले स्वास्थ्यमा विभिन्न समस्याहरु आउने सम्भावना भएकाले उपभोक्ताहरु सचेत हुन आवश्यक रहेको सूचना अधिकारी भारतीले बताउनुभयो ।
म्याद नाघेका , लेवल नभएका अखाद्य बस्तुहरु लाई बिक्री गर्ने १४ जना ब्यापारीहरुलाई १ लाख २० हजार जरिवाना गरिएको खाद्य प्रविधी तथा गुण नियत्रन्ण डिभिजन कार्यालयका प्रमुख प्रविण कुमार अधिकारीले जानकारी दिनुभयो ।
उपभोक्ताहरुले कुनै पनि सामानहरु खरिद गर्दा अनिवार्यरुपमा उत्पादन र उपभोग्य मिति हेरेर मात्रै खरिद गर्न उहाँले आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय बैतडी सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय , सुरक्षा निकायका प्रतिनिधी र स्थानीय तहका जनप्रतिनिधीको सयुक्त बजार टोलीले बजार अनुगमन गरिरहेको हो ।