बैतडीका दुई दाजुभाइ मिलेर अगरबत्ती उद्योग सञ्चालनमा ल्याएका छन् । जिल्लाको पाटन नगरपालिका–६ का किशोर पन्त र वीरेन्द्र पन्तले गाउँमै अगरबत्ती उद्योग सञ्चालनमा ल्याउनुभएको हो । किशोर र वीरेन्द्र सहोदर दाजुभाइ हुन् । लामो समयदेखि रोजगारीका लागि भारतमा रहनुभएका दुवैजना कोरोना भाइरस सङ्क्रमण फैलिएपछि गाउँ फर्किनुभएको थियो । ‘भारतमा गरेको दुःख सम्झेर आफ्नै गाउँमा केही गरौँ भन्ने लाग्यो । त्यसपछि दुवै दाजुभाइ मिलेर अगरबत्ती उद्योग सञ्चालनमा ल्याएका हौँ,’ सञ्चालक किशोर पन्तले बताउनुभयो ।
‘गत वर्ष करिब पाँच लाखको लागतमा उद्योग सञ्चालनमा ल्याएका हौँ,’ उहाँले भन्नुभयो, ‘आम्दानी पनि राम्रै भइरहेको छ ।’ अगरबत्ती उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थको खर्च कटाएर मासिक ३० देखि ४० हजारसम्म बचत भइरहेको वीरेन्द्र पन्तले जानकारी दिनुभयो । ‘भारतमा हुँदा पनि दिनरात नभनी मिहिनेत गर्दा लगभग यति नै पथ्र्यो, घरपरिवारबाट टाढा हुनुपर्ने बाध्यता थियो भने अहिले परिवारसँगै बसेर राम्रै आम्दानी भइरहेको छ,’ उहाँले भन्नुभयो । उत्पादित अगरबत्तीलाई बैतडीसहित दार्चुला, डडेलधुराका बजारमा पठाउने गरेको पन्त दाजुभाइ बताउनुहुन्छ । बाहिरबाट कच्चा पदार्थ ल्याएर उहाँहरूले गाउँमै अगरबत्ती उत्पादन गरिरहनुभएको छ ।
दैनिक ६५ हजार बराबरको अगरबत्ती उत्पादन हुने गरेको छ । तर, उत्पादनअनुसारको बजार नहुँदा बजारीकरणका लागि समस्या हुने किशोर पन्तले बताउनुभयो । ‘यहाँका व्यवसायी र ग्राहकहरूले बाहिरबाट बनेर आउने अगरबत्तीलाई बढी प्राथमिकता दिने भएकाले उत्पादनअनुसार खपत गर्न गाह्रो हुने गरेको छ, स्थानीय सरकारले बजारीकरण गर्न वातावरण सिर्जना गरे केही सहज हुने थियो,’ उहाँले भन्नुभयो ।
दैनिकजसो रोजगारीका लागि भारतलगायत अन्य खाडी मुलुकहरूमा जाने युवाहरूको सङ्ख्या बढिरहेको समयमा स्थानीय सरकारले युवा उद्यमीलाई केही सहुलियत गरे सहज हुने उहाँले बताउनुभयो । पाटन नगरपालिकाले भने मझौलाखालका उद्योगका लागि नीति निर्माण गरी प्रोत्सहान गरिने बताएको छ । आफ्नै ठाउँमा उद्योग स्थापना गरी स्वरोजगार भइरहेका युवाहरूका लागि पालिकाले उपयुक्त नीति निर्माण गरी प्रोत्साहन गरिने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।
‘सबै ठाउँमा अनुगमन गरी, परिवेश सुहाउँदो उद्योग स्थापना गर्ने र उद्योग स्थापनाका लागि नगरपालिकाले नीति निर्माण गर्ने तयारीमा छौँ,’ नगरप्रमुख रावलले भन्नुभयो, ‘आवश्यकताका आधारमा नगरपालिकाबाट सहयोग रहन्छ ।’ नगरपालिकाले स्थानीयस्तरमा उत्पादित वस्तुलाई बजारीकरणको सहजताका लागि प्रत्येक महिना हाटबजारको अवधारणा पनि अघि सारेको उहाँले बताउनुभयो ।