बैतडी
बझांगको बित्थडचीर गाउँपालिका वडा न.१ स्थीत श्री केदार माध्यमिक विद्यालयका छात्राहरु बेहोस हुन थालेपछि १हप्ताका लागि विद्यालय बन्द गरिएको छ ।
आइतबार २५जना छात्राहरु बेहोस भएकोमा सोमबार ६जना छात्राहरु बेहोस भएका हुन् । उनिहरुको २घण्टा पछि होस आएको बिद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने,‘विद्यार्थीहरु एक पछि अर्को हुदैँ बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले, उद्धारमा खटिएका शिक्षिकालाई समेत समस्या भयो ।’ पहिलो दिन बेहोस भएका सबैलाई घर पठाएपनि दोश्रो दिन स्वास्थ्यचौकीमा पुर्याएर डाक्टरबाट चेकअप गराएको उनले बताए ।
बेहोस भएका छात्राहरु नबोल्ने तथा इसाराले घाटी च्यापिएको बताउने, आखाँ फर्काउने गर्दछन् ।
बेहोस भएका केहि छात्राहरुको घरमा धामी चलाएपछि होसमा आएको शिक्षक मुरलीधर अवस्थीले बताए । उनले भने,‘अघिल्ला बर्षहरुमा पनि यस्तो समस्या देखिएको थियो । अधिकांश छात्राहरु धामी चलाएपछि निको हुन्छन् । नजिकै मसानघाट रहेकाले स्थानियबासीले मसान लागेको आंशका गरेकाछन् ।’
विद्यार्थीहरुमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनिहरुमा मास हिस्टेरीया भएको डाक्टर इश्वर बलामीले बताए । उनले भने,‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केहि समस्या हुनसक्छ । त्यसको जाच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेशन मा बस्नुपर्छ । सबै छात्राहरु एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केहिदिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।’
चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए । १जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने डाक्टर बलामीको भनाई छ । यस्ता छात्राहरुमा केहि अन्य स्वास्थ्य समस्याहरु देखिएमा अस्पताल पुर्याउन उनको सुझाव छ । विद्यालयमै पुगेका डाक्टर बलामीले १घण्टा शिक्षकहरुलाई सहजीकरण गरेका छन् ।