सीपी लोहिया/बैतडी-बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ स्थीत अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् । यहाँका स्थानियबासी व्यवसायीक तरकारी खेतिबाट आर्थिक उपार्जन गर्दछन् । तर विगतमा स्याडी खोलाबाट सिँचाई कुलो मार्फत पानी ल्याइएकोमा पाटन– पञ्चेश्वर सडकले कुलो भक्ताएपछि सिँचाईको समस्या भएको छ ।
अडतोला र कद्द्वार गाँउका ५० बढी परिवारले कादालोले खनेर खेतमा पुगाएको सिँचाई कुलो २०७० सालमा भत्काइएको हो । स्थानीय धर्मानन्द पाण्डेयले भने,‘२०३८सालमा गाँउलेहरु मिलेर बनाएको कुलोबाट सिँचाई गर्दै आएका थियौँ । पाटन–पञ्चेश्वर सडक खन्ने बेला भत्किएको कुलोलाई एकदुई पटक आफैले मर्मत गरेर बनायौँ, तर २०७० सालदेखी सडक कालोपत्रेको काम सुरु भएयता भने सडक डबल कटिङ गरिएकाले कुलोको नाम निसाना नै मेटिदियो ।’
सिचाई कुलो भत्केपछी २सय बढी रोपनी खेतियोग्य जमिन बाँझो खेतमा परिणत भएको स्थानिय खेमराज पाण्डेयले बताए । उनले भने,‘हामीसंग जमिन प्रयाप्त छ तर पानी नभएकाले बाँझै छाडेका छौँ । कतैकतै गहुँ, मकै र तरकारी लगाएपनि पानीको अझावले बालीनाली सुक्छ । सिचाई सुबिधा भएको भए तरकारी खेति गरेर जिविकोपार्जन गर्न हुन्थ्यो ।’
सिँचाई कुलो निर्माण गरिदिन सडकको ठेकेदार कम्पनी र सम्बन्धीत कार्यालयहरुलाई पटक–पटक घच्घच्याएको स्थानियबासी बताउछन् ।
सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएपछी केहि मिटर पाइप दिइएको छ । पाइपका टुक्राहरु दिएपनी जडान नगरीदाँ पाइपहरु त्यसै थन्काइएको छ ।
स्थानिय तर्कराज पाण्डेयले भने,‘पाइप यहाँ पुर्याएको ७ महिना पुराभयो । जडान गरिदिएको भए हुन्थ्यो । हामी आफैले जडान गर्न अन्य सामग्री नदिइएकाले सम्भव छैन् । पाइपको एकै थुप्रो बनाएर अलपत्र छाडीएको छ ।’
सिँचाई आयोजना निर्माणका लागि प्रदेश सरकार र संघ सरकार लाई सिफारिस गरेको पाटन नगरपालिका ५ का वडाअध्यक्ष फुनिसिंह बोहराले बताए । उनले भने,‘भत्केको आयोजना निर्माणका लागि सबैसंग पहल गर्यौँ तर कसैले सुनेका छैनन् । जिल्ला स्थीत सिँचाई डिभिजन कार्यालय, पुर्वाधार बिकास कार्यालय र सडक डिभिजन कार्यालय संग पहल गरयौँ । तर उनिहरु एकअर्को कार्यालयलाई भन्नुस भन्दै टार्छन् ।’