आनन्द पौडेल
हरेक मानिस, दृष्य वा अदृष्य वस्तुको परिचय नामबाट हुने गर्दछ । नौ अरब भन्दा बढी मानिसको नाम जुरेको छ, फूरेको छ । कोही पनि नामबाट बञ्चित भएको सुनिएको छैन । वस्तुका किसिम अनुसार तिनका नामाकरण भइरहेका छन । पृथ्वी भित्रका हुन् वा पृथ्वी बाहेक ब्रह्माण्डका आकाशीय पिण्डहरुको पनि नामाकरण गर्ने क्रम जारी नै छ । हरेक वस्तु र मानिसको अभिलेखीकरण तिनका नामाकरणबाट श्रीगणेश भएको हुन्छ । नामाकरण गर्ने अभ्यास भने लेखन सभ्यताको विकासभन्दा अघि नै भएको मान्न सकिन्छ ।
यो नाम संस्कार वा न्वारन हिन्दू सोह्र संस्कारमध्ये बच्चा, युवा वा वयस्क व्यक्तिलाई आआफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने पद्दति हो । हिन्दू बैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामाकरण गर्ने प्रचलन छ । हिन्दू धर्माबलम्वीहरुमा वाह्र राशिका लागि अलग अलग अक्षर बनाइन्छ । जन्मकुण्डली बमोजिम अक्षर छुट्टाइएका ती व्यक्तिको नामाकरण सोही बमोजिमको वाह्र राशिमा पर्दछ । जहां जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ । वरवधुको जन्म र चन्द्रमाको नक्षत्र वमोजिमको अक्षर उपयोग गरी विवाह तिथि पनि निकालिन्छ । अर्थात् विवाह मुहूर्त निकालिन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुनाले यसको महत्व रहेको हो । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रुपरेखा तयार पार्दछ । मंगोल समुदायमा विभिन्नता छ । कसैले छैंटीको दिनमा भान्जा भान्जी वा ज्वाई चेलीको उपस्थितिमा रमाइलो गरी नामाकरण गर्दछन् भने कोहीले हिन्दू धर्म अनुसार पनि न्वारान गर्दछन । कोहीले जन्मेको वारलाई आधार मानेर पनि व्यक्तिको नामाकरण गरेका छन । हरेक समुदायमा जन्म संस्कार अनुसार व्यक्तिको नामाकरण हुन्छ । यो समुदायले चन्द्र पात्रोको अभ्यास गर्दछन् । कोहिले तिथि अनुसार पनि नाम राख्ने गर्दछन् ।
नामाकरणसँगै पूर्वजहरुको थर जोडिएको हुन्छ, जसले पारिवारिक विरासत बोक्दछ । नामको पूर्णता र पृथकता थरबाट हुनजान्छ । चीन देशमा हान वंशका मानिसहरु प्रशस्तै छन । नेपालमा थापा, वस्नेत र राणा ई थरबाट पारिवारिक, ऐतिहासिक विरासत बोक्ने हुनाले व्यक्तिलाई यसमा गर्वको अनुभूति हुन्छ । पश्चिममा व्यक्तिको थर भने पूर्वजकै अनुशरण गर्ने वा स्वतन्त्र राख्ने चलन पनि छ । थरको भरमा मानिसको प्रख्यातिभन्दा काम र नामबाट भएको ईतिहासमा पाइन्छ ।
स्मरणयोग्य नामको स्थापनाका लागि मानिस दौडिइरहेको छ । दौडिदा दौडिदै कोही राजनेता हुन्छन, कोही साहित्यकार, कोही कलाकार, कोही शहिद, कोही बैज्ञानिक, कोही महान खेलाडी । यिनीहरुको योगदान निष्ठापूर्ण कर्मले मात्र सम्भव भएको हो । त्यसैले ती नामहरु स्मरणयोग्य बन्नेगरेका छन । धेरैलाई यो छ कि वृत्ति कि कृति ? खानलाई बाँच्ने कि बाँच्नलाई खाने ? धेरै मानिस मात्र जीवन धान्नमा सम्पूर्ण उर्जा समाप्त पार्दछन । आफ्नो र आफ्नाका लागि मानिस मरिमेटछन् वा आफ्नो कर्मले भाग्यले जहाँ हुनुपर्ने हो त्यहीं हुन्छ, भनिमान्छन् । साधरण मानिसहरुमा अमर हुने सामथ्र्य पाउन सकिन्न ।
कलमधर्मीहरुलाई वेदव्यासको नाम लिनुमा, गणेशको नाम लिनुमा र सरस्वतीको नाम लिनुमा इज्जत छ, आदर छ, सम्मान छ । महर्षि व्यासले चार वेदको मात्र रचना गरेनन, अठार पुराणको पनि रचना गरे । यति ठूलो महाकाव्य मानव इतिहासमा आजसम्म कसैले रचना गर्न सकेको छैन । छिटो र अविरल लेखनमा श्री गणेश भगवानको र बुद्धि विवेक बृद्धिमा सरस्वतीको महिमा अपम्पार छ । नेपाली सन्दर्भमा साहित्कारहरुमध्ये महाकवि देवकोटा, कवि शिरोमणी लेखनाथ पौड्याल र नाटककार बालकृष्ण समलाई स्मरण नगरी सुखै छैन । विश्वस्तरमा शेक्सपियर, गेटे, म्याक्सीम गोर्कीको योगदानलाई चर्चारहित गर्न सकिदैंन । संस्कृत साहित्यका महाकवि कालीदास पनि यही कोटिमा पर्दछन् । ती स्वनामजन्य नामले सुकाम गरी मानव सभ्यताको विकास गर्न सकेकोले उहाँहरुको सुनाम भएको विषय घामजस्तै छर्लङ्ग छ । त्यसैले, राज्य र संसारका मानिसहरुले नतमस्तक भई उपयुक्त विशेषणले उनीहरुलाई विभूषित गरिएको पाइन्छ ।
शहिदहरु आफ्नो स्वार्थको लागि मर्दै मर्दैनन् । तिनीहरु राष्ट्रको लागि समाजको लागि सर्वहितका लागि प्राण उत्सर्ग गर्दछन । यिनीहरु वृत्ति र कृतिको पछाडि पर्दैनन । त्यसैले यस्ता महान शहिदहरुको नाम सबैभन्दा उच्च तहमा हुने गरेको छ । नेपालका पहिलो शहिद लखन थापा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथचन्दको नाम सगरमाथाभन्दा उच्च छ । देशमा यस्ता शहिदहरुको कोटिमा अन्य अपराधीहरुको नाम जोडिन हुँदैन्, यसमा भ्रष्टीकरण नहुनुपर्छ ।
बैज्ञानिकहरु पनि राज्य वा कुनै भौगोलिक सीमामा बाँधिदैंनन् । उनीहरुले मानव मात्रको हितका लागि ग्राह्य आविश्कार गर्दछन । अल्बर्ट आइन्टाइन, जे हकिन्स, ग्यालियो ग्यालिली, पाइथोगोरस, म्याडम क्यूरी, राइट ब्रदर्स मानव सभ्यतालाई यो उचाईमा पु¥याउने महान बैज्ञानिकहरु हुन् । खेलाडिहरूमा फूटवलका पेले, म्याडोना, क्रिकेटका सचिन तेन्दुल्कर । उनीहरु आफू मेटिन्छन, नामै बिर्सिन्छन तर सर्वहितका लागि लागिरहन्छन् । तिनीहरु आफ्नो स्वार्थ नीच मान्छन् । कोरोना महामारीमा खोप पत्ता लगाउनेहरु पनि यही कोटीका स्मरणयोग्य नामहरु हुने नै छन ।
सम्मानयोग्य कोटीमा समाजसेवीहरुको नाम र कामको उल्लेखनीय योगदान रहेको छ । उनीहरुले आफूलाई जीवनभरि नै सबैको भलोको लागि निष्काम काम गरेका हुन्छन । मदर टेरेसाले दीनदुःखीहरुको सेवामा, हेलन केलरले विरामी परेका मानिसहरुको सेवामा, तुलसीमेहरले स्वदेशी उद्यमको विकासमा, हेनरी ड्यूनाले युद्धमा घाइते भएकालाई गरेको उद्दारको भार कसैले तिरेर सकिन्न ।
राजनीतिज्ञहरुमा मोहनदास करमचन्द गान्धी, नेलशन मण्डेला, विन्टन चर्चिल, अब्राहम लिंकनको योगदान मानव इतिहासमा स्वार्णाअक्षरले लेखिएका छन । भारतका महात्मा गान्धीले विना हातहतियार अहिंसाद्वारा आन्दोलन गर्नसकिने मान्यताको स्थापित गरे । दक्षिण अफिकाका नेल्शन मण्डेलाले जातिभेद बिरुद्ध उल्लेखनीय काम गरे । बेलायतका विन्स्टन चर्चिलले संयुक्त राष्ट्रसंघको स्थापना गर्नमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । अमेरिकाका अब्राहम लिंकनले समग्र लोकतन्त्रको प्रवद्र्धन गर्दै, जातिभेद विरुद्ध पनि स्मरणयोग्य काम गरेका थिए । उनको लोकतन्त्रको ‘जनताले जनताद्वारा जनताका लागि’ परिभाषा सर्वमान्य रहेको छ ।
कतिपय मानव रुप धारण गरेकाहरु तिनले गरेका राम्रा र असल कर्महरुका कारण भगवानका रुपमा पूज्य र स्तुत्य छन । यसमा राधाकृष्ण, सीताराम, जिसस क्राइष्ट, मोहम्मद, गौतम बुद्ध रहेका छन । कृष्णले धर्म स्थापनार्थ काम गर्नुभयो । के गर्न हुने र नहुने छुट्टाइदिनुभयो । त्यसैले भूतेश हुनुभयो । रामले असल शासन र आदर्श जीवन स्थापनार्थ जीवनको अधिक समयको उपयोग गर्नुभयो । त्यसैले उहाँ मर्यादा पुरुषोत्तम हुनुभयो । जिसस क्राइष्टले दुःखी जनहरुको लागि फेरी वलिदान गर्नु नपर्ने बाटो देखानुभयो । मोहम्मदले गरिबलाई आम्दानीको केही प्रतिशत छुट्टाई मानव धर्मको पालना गर्न जोडदिनुभयो । गौतम बुद्धले मानिसमा दुःख छ, यसको निबारण गर्नसकिनेमा विश्वास दिलाउनुभयो । त्यसैले, आज पनि नयाँ व्यक्तिका नामहरु उहाँहरुको नामबाट राख्ने चलन रहिआएको छ । उहाँहरुको नामोच्चारणले मात्र पनि स्वर्ग तर्नसकिने विश्वास सबै समुदायमा रहेको छ ।
परिचय, पहिचान दिनका लागि नाम राखिन्छ । त्यसैले अन्यबाट त्यो अलग बनाउन खोजिएको हुन्छ । व्यक्तिको हकमा नागरिकतामा उल्लेख भएपछि मात्र त्यसलाई राज्यका राजनीतिक नक्शाहरुले मान्यता दिन्छन । फेरी कतिपय नामहरु इतिहासमा वदनाम छन । सिता हरण गर्ने रावण, बालक कृष्णलाई दूध चुसाउने बहानामा मार्न खोज्ने पुतना, बिष्णुका अनन्य भक्त भक्तप्रल्हादलाई आगोमा होमेर आफैं मर्ने होलिका, पुन्य आत्मा वा ऋषि मुनिहरुको ध्यान भङ्ग गर्ने अप्सराहरु आदि त्यसै वर्गका हुन । यसो भएकोले आजकल मानिसका नामहरुमा यिनीहरु दोहिरिएका देखिंदैनन् । वस्तुहरुमा पीपलको वोट प्रतिको मोह, घरको माया, स्वामी बोटको छाँया आदिमा मानिसको लगाव उत्तिकै छ, प्रिय छ । आकाशिय पीण्डहरुमा पनि धुर्वतारा, सप्तर्षि, तीनतारे, चन्द्रमाप्रति मानिसको अगाध आस्था छ । तर रातमा खस्दै गरेको लामपुच्छे तारासँग मानिसको डर उत्तिकै छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन नाम अनुसार हुने भए लक्ष्मीको आर्शिवाद पाउने थिए । तर उनी ठिक विपरीत गरिब थिए, बरु सरस्वतीका बरद पुत्रका रुपमा स्थापित भए । आदिकवि भानुभक्त आचार्यलाई आँखा खुलाउने घाँसी नामको श्रमिक थियो । उसको सार्वजनिक कल्याणको निष्ठा सुनेर आदिकवि उत्प्ररित भई उनले जीवनमा नेपाली भाषाको उन्नयनमा उल्लेखनीय योगदान दिन सके । धार्मिक सन्देश मार्फत् साहित्यको सेवा गरे र नेपालीहरुबाट सम्मान पाए । दृष्टान्तहरुबाट यो बुझाई रहयो कि कर्मद्वारा नाम स्थापित हुन काम गरिनुपर्दछ जो समुदाय, राष्ट्र र विश्वकल्याणका निम्ति हुनुपर्दछ । नामसँग काम, असल कामसँग नाम अन्योन्याश्रित रहेका छन् ।
लेखक: बैतडीका पुर्व प्रमुख जिल्ला अधिकारी हुन् ।