बैतडी
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पंथीले सरकारी कार्यालयहरुमा सुशासन कायम गर्ने बताएकाछन् । मंगलबार पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा पंथीले सेवा प्रदायकले शुसासन कायम गर्नु अपरीहार्य रहेको बताए ।
सोमबार मात्रै जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी पंथीले नागरिकले पाउने सेवा छिटो छरितो र विना झण्जट पाउनुपर्नेमा जोड दिए । उनले भने,‘सेवाग्राही संग सेवा प्रदायक निकायले निकट भएका काम गर्नुपर्छ । वर्तमान समयमा समेत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु राति १० सम्म काम गरिरहनु भएको रहेछ । २ जना सेवाग्राहीलाई खान-बस्न व्यवस्था गरेर समेत सेवा दिइयो । कर्मचारीको अभावले यस्तो अवस्था श्रृजना भएको हो, हामी सेवाग्राहिलाई सेवा प्रदान गर्न रातदिन नभनी लाग्छौँ ।’
प्रमुख जिल्ला अधिकारी पंथीले जिल्ला स्थीत कार्यालयमा हुने ढिलासुस्ती तथा अनियमितता न्युनिकरण गर्ने बताएकाछन् । विभिन्न निकायमा सेवा लिन जादाँ विना कारण अल्झ्याउने तथा आर्थिक अनियमितता समेत भएको भन्ने पत्रकारहरुको प्रश्नमा प्र.जि.अ. पंथीले कुनैपनि अनियमितता भएको बिषयमा आफुलाई जानकारी गराउन आग्रह गरे । आफुलाई प्रमाण सहित अनियमितताको जानकारी आए तत्काल एक्सन लिने बताए ।
प्रमुख जिल्ला अधिकारी पंथीले आफ्नो जिम्मेवारी निर्देशन, नियन्त्रण र समन्वय गर्ने भएकाले उक्त जिम्मेवारी कुशलतापुर्वक गर्ने पुरा गर्ने बताए । बैतडी भारतसंग जोडिएको खुल्ला सिमानाका समेत भएकाले सुरक्षा चुनौती, सिमा सुरक्षा, महाकाली नदिमा अवैध ओहोरदोहोरका बिषयमा उचित निर्णय गर्ने उनको भनाई छ ।
यसअघि बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको गृह मन्त्रालयमा सरुवा भएसंगै पंथी प्रमुख जिल्ला अधिकारीका रुपमा बैतडी आएका हुन् । निर्वतमान प्र.जि.अ. पाण्डेयले जिल्लाबासीलाई साथ सहयोगका लागि धन्यवाद ज्ञापन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।