काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बौद्धिक सम्पत्ति र मौलिक कला संस्कृतिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले प्रतिलिपि अधिकारको सुरक्षामा सरकारले भूमिका निर्वाह गर्ने बताए ।
बौद्धिक सम्पत्ति संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै उनले नेपालका मौलिक तथा सांस्कृतिक परम्पराहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए । देशको गहनाका रूपमा चिनिने नेपाली सर्जकहरूले गरेका सृजनाको चोरी गरी आफ्ना नामबाट प्रकाशन/प्रसारण गर्नेलाई सरकारले कारबाही गर्ने बताए । उनले नेपालका पुराना लोक कला संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले कानुनलाई फरक–फरक रुपमा चिन्ने अवस्था रहेको बताए । उनले भने, ‘व्यवसायीले एक किसिमले, सरकारले एक किसिमले र न्यायालयले एक किसिमले त्यसलाई चिन्ने बुझ्ने कुराले कानुनमा दुबिधा भयो । त्यसैले हामी अहिलेको परिवेशमा नेपालको बौद्धिक कानुन औद्योगिक सम्पत्ति कानुनलाई नयाँ किसिमबाट अगाडि बढाउन चाहन्छौँ । र अहिले क्याबिनेट समितिमा लामै छलफल भएर अझ त्यसभित्र पनि उपसमिति बनाएर चाँडै क्याबिनेटमा निर्णय गराएर संसदमा प्रवेश गराउँछौँ ताकि त्यसले त्यो क्षेत्रको समस्यालाई निराकरण गर्न सकोस् ।’
उनले थपे, ‘हामीले आएका उजुरीहरूलाई मात्रै थेग्नुपर्ने, अल्झिरहनुपर्ने भएन । आजको यो विश्व बौद्धिक सम्पत्ति दिवसको अवसरमा नेपालका उद्योगीहरू व्यवसायीहरू वा हाम्रा मौलिकतासँग जोडिएका कतिपय सन्दर्भहरूलाई कसरी लिपिबद्ध गर्न सक्छौँ कसरी व्यवस्थित गर्न सक्छौँ, हाम्रो पेटेन्ट डिजाइनलगायतको क्षेत्रमा यसरी विस्तार गर्न सक्छौँ भन्ने खालको एउटा सङ्कल्प नयाँ उद्घोषका साथमा हामीले त्यो इच्छाशक्तिका साथमा अगाडि बढ्न पर्ने छ । ताकि हामी भन्दा पनि पछाडि परेका देशहरूले जसरी फड्को मारेका छन् हामीले हाम्रो पेटेन्ट हो भन्ने अनुभूत गराउने खालको गरी त्यसको विकास गर्नु जरुरी छ ।’
मन्त्री भण्डारीले पुर्खाले सिर्जना गरेका कतिपय बौद्धिक सम्पत्तिको नाममा संस्था खोलेर त्यसको परिचय दिए पनि पेटेन्ट राइट सुरक्षित गर्न कसैको ध्यान जान नसकेको बताए । उनले विदेशीको डिजाइन र पेटेन्टलाई नक्कल गरेर वस्तु बजारमा पठाउँदा आफ्नै आविष्कार, डिजाइन तथा उत्पादनमा पछि परेको बताए । उनले पेटेन्ट राइटका लागि पुर्खाले छोडेर गएका अनेकौँ संस्कृतिसँग जोडिएका विषय वस्तु भएको बताए । कतिपय पेटेन्ट राइटका विषयहरू दर्ता गरेर त्यसको नवीकरण नगर्दा समस्या देखिएको उनको भनाइ छ ।
भण्डारीले भने, ‘अहिलेको कानुनले के कुरा बोल्छ ? के गर्न आवश्यक छ ? हामीले निवेदन परेका उजुरीमा फैसला गर्दै जाने त्यसैमा समय व्यतीत गर्ने कि ८२ वटामा मात्रै हाम्रो पेटेन्ट देखिन्छ । त्यसमा पनि नवीकरण नभएको देखिन्छ समयावधि तोकिएको छ, त्यसमा पनि हाम्रो ध्यान गएको छैन । एक पटक दर्ता गरौँ, नवीकरण गर्न सकेनौँ । कानुनले पनि नियन्त्रण गर्ने खालको मात्रै जस्तो दण्ड जरिवाना मात्रै भनेको छ । यसलाई अलि अब हामीले पनि हाम्रो पेटेन्टमा हाम्रो आविष्कारमा डिजाइन हाम्रो मौलिकतामा गर्न सक्छौँ । हाम्रा पनि थुप्रै मौलिक विषयहरू छन् । पुर्खाले गरेका थुप्रा विषयहरू छन् नि आज संस्कृतिसँग जोडिएको छ । हामीले सङ्घ संस्था खोलेर त्यसको आडेन्टिटी त दिएका छौँ तर त्यसको राइटको बारेमा पैरवी गर्ने संस्थागत प्रोत्साहित गर्ने गर्नुपर्ने थियो त्यो हुन सकेन ।’ उनले भने ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बौद्धिक सम्पत्ति दुरुपयोगका विषयमा सम्बन्धित व्यक्तिहरू नै अनविज्ञ रहेको हुनु नै समस्याको विषय भएको बताए । उनले यस सम्बन्धीका पुराना कानुनहरू संशोधन गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताए ।
बौद्धिक सम्पत्ति सङ्गठन (WIPO) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्कका विषयमा विवादहरू आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताए । उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल सहज र छिटो गर्नु पर्ने बताए ।
“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठुलो सहयोग पुग्ने छ । ”उनले भने ।
उनले गीत सङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रूपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरूले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए ।
उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अर्थतन्त्रको उन्नति र आर्थिक समृद्धिका लागि औद्योगिक सम्पत्ति महत्त्वपूर्ण भए तापनि यो विषय छायामा परेको बताए । उनले पुरानो कानुन र सरोकारवालको चेतना न्यून रहेको बताए । त्चबमझबचप प्रशासन अप्ठ्यारो र जटिल हुँदा पनि जनशक्तिको स्थिरता, विज्ञता र अनुभव कायम गर्नु चुनौतीपूर्ण रहेको उनको भनाई छ । विभागले पछिल्लो समयमा एकीकृत दर्ता गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको र उजुरी फर्छ्यौटमा तीव्रता दिएको महानिर्देशक ज्ञवालीले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले कलात्मक कार्य र सिर्जनाको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले बौद्धिक सम्पत्ति साँझा चासोका विषय भएको बताउँदै यसको विषयमा सबैको चासो र सरोकार रहनुपर्ने बताए । हाम्रा परम्परागत संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको संरक्षण प्रवर्द्धन मार्फत आर्थिक विकास गर्न सकिनेमा जोड दिए ।
विश्व बौद्धिक सम्पत्ति सङ्गठन ( WIPO ) ले पहिलो विश्व आइपि दिवस २००१ मा मनाउन थालिएको थियो । विश्व बौद्धिक सम्पदा सङ्गठनले हरेक वर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यो वर्ष IP and music feel the beat of IP नारा तय गरेको छ ।