काठमाडौं । पशुपतिदेव पाण्डे तयारी पोशाकका क्षेत्रमा आबद्ध भएको दुई दशक नाघिसक्यो । पाण्डे पिओर क्लोथ उद्योगका सञ्चालक हुन् । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्ष रहेका पाण्डे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्यात प्रवर्द्धन समितिमा सहसभापतिसमेत छन् ।
उनले नेपालमा तयारी पोशाक उत्पादन गरेर विदेशमा निर्यात गर्दै आएका छन् । निर्यातमध्ये ४० प्रतिशत अमेरिकामा हुँदै आएको छ । अब नेपालबाट अमेरिका निर्यात हुने वस्तुहरूमा १० प्रतिशत ट्यारिफ लाग्ने भएको छ । यसले नेपाललाई कस्तो असर पार्छ भन्नेबारे सँग गरेको कुराकानीको सम्पादित अंशः
– नेपालमा पछिल्लो समय गार्मेन्ट उद्योगको अवस्था कस्तो छ ?
तयारी पोशाक खाद्यान्नपछिको ठूलो व्यवसाय हो । लत्ताकपडा अत्यावश्यक रहेकाले यसको बजारको हिस्सा ठूलो छ । नेपालबाट निर्यात हुने वस्तुहरूको दोस्रो स्थानमा तयारी पोशाक रहेको छ ।
एकताका अमेरिकासँगको मल्टीफाइबर एग्रिमेन्टअन्तर्गत कोटा सिस्टममा सामानहरू त्यहाँ जाने गरेको थियो । यसमा विभिन्न मुलुकसँगै नेपाल पनि परेको थियो । सन् २००५ मा मल्टीफाइबर एग्रिमेन्ट अन्त्य भयो । त्यसपछि नेपालमा करिब १ हजार २८५ वटा गार्मेन्ट उद्योग बन्द भए ।
तत्कालीन समयमा वार्षिक ४० करोड डलरको निर्यात हुने गरेको थियो । लाखौंको रोजगारी गुम्यो, अर्बौंको क्षति हामीले व्यहोर्नुपर्यो । त्यसपछि यस्ता थुप्रै उद्योग रुग्ण भए । त्यसबेला एकै सालमा १५ वटाको सङ्ख्यामा उद्योग झरे । थुप्रै उद्योगी पलायन भए । कामदारहरू पनि पलायन भए ।
हाल नेपालमा गार्मेन्ट उद्योगको सङ्ख्या १०० को हाराहारी रहेको छ । अहिले यस क्षेत्रमा ५० हजारले मात्रै रोजगारी पाएका छन् । नेपालका गार्मेन्ट उद्योगहरूमा धेरैजसो नेपालीहरूले नै रोजगारी पाएका छन् । केही भारतीयहरूले पनि रोजगारी पाएका छन् ।
– अर्थतन्त्रमा देखिएको मन्दीले गार्मेन्ट उद्योगलाई कस्तो असर पारिरहेको छ ।
अर्थतन्त्रको मन्दीले अवश्य पनि समस्या परी नै हाल्छ । राज्यको सबै अङ्गमा असर गर्छ । हामी उद्योगीहरूलाई नपर्ने भन्ने हुँदैन, परेको छ ।
– तपाईं नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिमा सहसभापति पनि हुनुहुन्छ । नेपालबाट हुने निर्यातको अवस्था कस्तो छ ?
नेपालबाट तयारी पोशाकमात्रै होइन, अन्य थुप्रै वस्तु तथा सेवाहरू निर्यात हुने गर्छ । गलैँचादेखि कुकुरका लागि आहारसम्म निर्यात हुन्छ । समग्रमा नेपालबाट हुने निर्यातको अवस्था नराम्रो छैन । राम्रो नै छ । जुन विस्तारै वृद्धि हुँदै गएको छ ।
अब निर्यात थप बढ्दै जान्छ । अहिले सरकार पनि उद्योग बढाउने, निर्यात गर्ने, अर्थतन्त्र चलायमान बनाउन लागिरहेको छ । यसका लागि सरकारका सबै अङ्ग परिचालन भएका छन् । यसमा छिट्टै राम्रो खबर आउनेछ । राम्रो हुनेमा नै हामी आशावादी छौँ ।
हामीले पनि विभिन्न फोरममा राज्यलाई कसरी माथि लैजाने भनेर नै सुझावहरू दिइरहेका छौँ । हाम्रा सुझावहरूमा सरकार पनि सकारात्मक रहेको छ । चाँडै निर्यातमा हामीले उल्लेख्य प्रगति हासिल गर्न सक्छौँ ।
– आयात र निर्यातको तुलना गर्ने हो भने आकाश-जमिनको फरक छ । आयातको तुलनामा नेपालबाट निर्यात पर्याप्त नहुनुको खास समस्या के हो ?
हामीले आयात र निर्यातमा देखाउने डाटा नै ठीक छैन । प्रशोधन हुने टेक्नोलोजीदेखि विभिन्न चिजहरू जुन नेपाल आएर रिफाइन गरेर उत्पादन दिनेलाई भनिने आयात र ‘कन्जुमरबेस’को आइटमको निर्यातलाई छुट्ट्याउनुपर्छ । तिनीहरूलाई एउटै क्याटोगोरीमा राखेर हुँदैन ।
निर्यातमा जे पनि पठाउन मिल्यो । त्यसलाई डाटामा राख्न पनि मिल्यो । जुन आयात भनिन्छ नि, जुन कन्जुमर बेसका आइटमहरू छन्, तिनीहरूले कुनै पनि परिवर्तन ल्याउँदैन । जनैदेखि लुगासम्मलाई आयातमा राखिएको छ ।
– बजारमा तयारी पोशाकको हिस्सा स्वदेशीभन्दा विदेशी धेरै छ । नेपालीहरूले नै किन नेपाली उत्पादन रुचाउँदैनन् ?
हामी नेपाली सबै बाहिरको लगाउने, बाहिरको नै खाने र बाहिरको नै विश्वास गर्ने भयौं । बाहिरको भन्नेबित्तिकै विश्वास गर्ने, तर त्यही गुणस्तरका लुगाहरू नेपालमै बनेको छ भने त्यो नलगाउने गर्छौँ । बाहिरबाट आयात हुने जस्तै कपडाहरू हाम्रै सदस्य उद्योगीहरूले पनि बनाउँछन् । केटीएम, लोगो फेसनलगायतका विभिन्न उद्योगहरूले नेपालमै राम्रो गुणस्तरको लुगा उत्पादन गर्दै आएका छन्, तर नेपालीहरू मेड इन नेपाल किन लगाउने भन्ने खालका भइदिए । यसमा मानसिकता नै परिवर्तन गर्न जरुरी रहेको छ ।
मेरो राष्ट्र, मेरो उत्पादन र विश्व बजार भन्ने थिमसहित हामीले काम गरिरहेका छौँ । नेपालमै उत्पादन गर्ने आफैंले प्रयोग गर्ने र विश्व बजारमा पुर्याउने गरेर हामीले काम गरिरहेका छौँ । मेरो देश म आफै बनाउँछु भनेर तपाईं हामी सबै लाग्नुपर्छ ।
– कुनै समय नेपाली तयारी पोशाकको बजार अमेरिकामा धेरै थियो, धेरै वर्ष अघिदेखि त्यो अवस्था रहेन । कोटा सिस्टम नभएर हो कि हामीले गुणस्तरीय सामान दिन नसकेर हो ?
एकताका नेपाली तयारी पोशाकको ठूलो बजार अमेरिका थियो । यसमा गुणस्तरको कुनै विषय होइन । हाम्रोमा गुणस्तरकै कारण सिध्यायो भन्ने होइन । कोटा फेजआउट भएपछि भन्साररहित सुविधा हटेर भन्सार लागेपछि महँगो पर्न गयो । अन्य मुलुकका सस्तो पर्न गयो । हाम्रोमा महँगो परेपछि ग्राहक आउन छोडेका हुन् ।
– हामीले अरू तेस्रो देशमा नेपालको तयारी पोशाकको वैकल्पिक बजार खोज्न सकिन्न र ?
अहिले अमेरिकामा जम्मा निर्यातको ४० प्रतिशत जान्छ । बाँकी युरोपलगायतका अन्य मुलुकमा निर्यात हुने गरेको छ । अन्य मुलुकमा पनि निर्यात गर्न त सकिन्छ, तर महँगो पर्न गएकाले सम्भव नभएको हो ।
एउटा उदाहरण हेरौँ– तीन वटा दोकान सँगै छ । तीन दोकानमध्ये नेपालको एउटा भयो । एउटा चीनको र एउटा भियतनामको भयो । यी तीन दोकानमा एउटै सामान पाइन्छ, तर मूल्य फरक फरक हुन्छ । जुनमा मूल्य सस्तो छ, त्यसमै त ग्राहक आकर्षित हुने हुन् । हाम्रोमा पनि त्यही भएको हो ।
– अमेरिकाले अहिले जसरी विश्वव्यापी ट्यारिफ (भन्सार कर) बढाएको छ, त्यसले नेपाललाई के असर गर्छ ?
अमेरिकाले नेपालबाट निर्यात हुने वस्तुहरूमा १० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको छ । अमेरिकाले अप्रिलको २ तारिखदेखि ट्यारिफ लगाएको छ । त्यसपछि हामी एकदमै खुशी थियौँ । ठूलो मात्रामा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खरिदकर्ताहरू सम्पर्कमा आउनुभएको थियो, तर फेरि ९ तारिखमा नयाँ स्टेटमेन्ट आयो । त्यसले फेरि ‘होल्ड’ गरिदिएको छ । अहिले नै नीति कार्यान्वयनमा आएमा नेपालले फाइदा लिनसक्छ ।
अरूले बनाइदिएको पोलिसीले पनि कहिलेकाहीँ राम्रो गर्छ । हामी जस्तै अरू मुलुकहरूलाई ३५-४० प्रतिशत लगाइदिँदा नेपाललाई १० प्रतिशतमात्रै लगाइदिएको छ । यसले नेपाललाई फाइदा पुग्छ । यही नीति आएमा अमेरिकामा निर्यात गर्ने उद्योगहरू, भियतनाम, कम्बोडिया, बंगलादेशलगायतका मुलुकहरूमा सञ्चालन भइरहेका उद्योगहरूमध्ये २-४ प्रतिशत उद्योग नेपाल आउने सम्भावना छ । यसो भएमा नेपालमा आमूल परिवर्तन आउँछ ।
– ट्यारिफपछि नेपालले केही फाइदा लिन सक्छ कि सक्दैन ?
अरू मुलुकको तुलनामा नेपाललाई लगाइएको ट्यारिफले फाइदा पुग्छ । ठूलो मात्रामा नेपालबाट निर्यात बढ्छ । आयात निर्यातको खाडललाई पाँच वर्षभित्रमा तयारी पोशाक, जुत्तालगायत आधा दर्जन वस्तुले नै कम गर्छ । हाम्रै युवाहरू स्वदेश फर्किने सम्भावना छ ।
यसको सबैभन्दा ठूलो फाइदा तयारी पोशाकलाई हुन्छ । दोस्रोमा जुत्तालाई हुन्छ । त्यसपछि पस्मिना, गलैँचा, हस्तकलालगायतका अन्य वस्तुहरूलाई ठूलो मात्रामा फाइदा पुग्छ । ट्यारिफकै कारण अन्य देशका उद्योगीहरू नेपालमा आउँछन् । यसले नेपालको विकासमा ठूलो परिवर्तन ल्याउने सम्भावना छ ।
ठूला उद्योगीहरू नेपाल भित्रिन पनि खोजिरहेका छन् । हामीसँग केही सम्पर्कमा पनि आएका छन् । अन्य मुलुकमा ट्यारिफका कारण घाटा हुने भएपछि नेपालमा ‘सिफ्ट’ हुन खोजिरहेका छन् । अहिलेको ट्यारिफ कायम भएमा नेपालको व्यापार घाटा पाँच वर्षमै अन्त्य हुने गरेर नेपालमा उद्योग विकास भई त्यसबाट निर्यात हुन्छ ।
– नेपाली गार्मेन्ट उद्योगका समस्याहरू के के हुन् ? समस्या समाधान गर्न कसले कस्तो भूमिका खेल्नुपर्छ ?
राज्य ‘सस्टेन’ हुन धेरै चिज चाहिँदैन । पोलिसी रिफर्म भयो भने आफैं भइहाल्छ । सरकार पनि अहिले यसमा लागिरहेको छ । यो सरकारले केही न केही रिजल्ट निकाल्ने हिसाबले काम गरिरहेको छ । यसमा चाँडै रिजल्ट आउँला, तर बजारको सुनिश्चितता एउटा समस्या बनेको छ । विदेशी बजारका ग्राहक आकर्षित गर्न पोलिसी रिफर्म गर्न आवश्यक छ ।
लामो समयदेखि नगद अनुदान दिइएको छैन । कार्गोमा टीडीएस लगाइएको छ । निर्यात गर्ने उद्योगहरूमा सहजै लगानी गर्न मानिँदैन । यी सबै समस्या समाधान गर्ने हो भने गार्मेन्ट उद्योग नेपालमा फस्टाउँछ ।
गार्मेन्ट उद्योगीहरूलाई सस्तो ब्याजदरमा ऋण आवश्यक छ । आजभन्दा १५ वर्ष अगाडि पेमेन्ट गेट वे युरोप, अमेरिकाले प्रयोगमा ल्याइरहेका छन्, तर नेपालले आजसम्म सकेको छैन । ई-कमर्समार्फत विश्व बजारमा हाम्रा उत्पादन पुर्याउने वातावरण बनाइदिनुपर्छ । केही समयलाई बाहिरको सामान नै किन्न बन्द गरिदिऔं । समस्या कहाँ छ, त्यसको चुरो कुरो खोजेर समाधान गरिदिनुपर्छ । जसरी हुन्छ निर्यात बढाउने वातावरण राज्यले बनाइदिनुपर्छ ।
– अहिले सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । गार्मेन्ट उद्योगीहरू कस्तो बजेट चाहन्छन् ?
अर्थतन्त्र चलायमान हुने बजेट चाहियो । निर्यातमैत्री बजेट चाहियो । बजेटले उत्पादन र निर्यातलाई जोड्न सक्नुपर्यो । लगानी बढ्ने वातावरण बजेटले बनाइदिनुपर्छ । हामीले सरकारलाई सुझावहरू पनि दिएका छौँ । हाम्रा सुझाव बजेटमा समावेश हुनुपर्छ भन्ने सबै गार्मेन्ट उद्योगीको माग छ ।
नेपाल प्रेस डटकम बाट साभार गरिएको