बैतडीका ५१ हजार बढी नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लाका १४ हजार ४३४ परिवारका ५१ हजार ८२९ जना नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालयका दर्ता अधिकारी अनिलचन्द्र जोशीले जानकारी दिनुभयो । ति मध्ये दुई हजार ५५५ परिवार बीमा शूल्क तिरेर कार्यक्रममा आवद्ध भएका दर्ता अधिकारी जोशीले बताउनुभयो ।
जेष्ठ नागरिक, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी र एचआइभी संक्रमित व्यक्तिहरुलाई निःशूल्क स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले जानकारी दिनुभयो । १० हजार ४८६ जेष्ठ नागरिक, १३९ परिवार एचआइभी संक्रमित, २० परिवार कुष्ठरोगी, ४३६ परिवार (क) वर्गका अपाङ्गता भएका व्यक्ति र ५० परिवार एमडिआर टिबी संक्रमित स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।
उहाँहरुको बीमावाफतको रकम सरकारले नै बीमा बोर्डलाई तिरीदिने गर्दछ ।यस्तै ७४८ महिला स्वास्थ्य स्वयसेविकाका परिवार यस कार्यक्रमा आवद्ध भएका बडालले बताउनुभयो । महिला स्वास्थ्य स्वयसेविकाको ५० प्रतिशत सघिंय सरकार र बाँकी सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भुक्तानी गर्दै आएको छ ।
स्वास्थ्य बीमामा आवद्ध व्यक्तिहरुको उपचारका लागि जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली सूचीकृत स्वास्थ्य संस्था रहेका उहाँले बताउनुभयो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा केहीसमयदेखी स्वास्थ्य बीमा गरेका व्यक्तीहरुको उपचार सेवा रोकिएको छ । सबै प्रक्रिया पुगीसकेको र बैशाख पहिलो हप्ताभित्रै सेवा सुरु हुने बडालले जानकारी दिनुभयो ।
गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमितले १ लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने गरेका छन् । ३ हजार ५ सय प्रिमियर तिरेर ५ जनासम्मको परिवारले १ लाख सम्मको उपचार निशुल्क पाउने गरेको कार्यालय प्रमुख बडालले बताउनुभयो ।
पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् ।
यसैबीच बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर नवौं स्वास्थ्य बीमा बार्षिकोत्सव कार्यक्रम मनाइएको छ । स्वास्थ्य बीमाको सम्पर्क कार्यालय बैतडीमा आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा स्वास्थ्यकर्मी, बीमा कार्यालयका कर्मचारी, दर्ता सहयोगी लगायतको सहभागिता रहेको थियो ।
सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता भन्ने मूल नाराका साथ बार्षिकोत्सव मनाइएको दर्ता अधिकारी जोशीले बताउनुभयो ।