बैतडीको पाटन नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्थामा सञ्चालन भएको प्रजनन् स्वास्थ्य शिविरबाट चार सयबढी महिलाहरु लाभान्वित भएका छन् । सिद्धेश्वर स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र बसन्तपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा ४२० जना महिलाहरुले प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा लिएका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्र पाटनबाट १६० जना महिलाहरुले प्रजनन स्वास्थ्य सम्बन्धी सेवा लिएका छन् । यस्तै सिद्धेश्वर स्वास्थ्य चौकीबाट १२० जना र बसन्तपुर स्वास्थ्य चौकीबाट १४० जनाले सेवा लिएका पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख एवं जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिनुभयो ।
शिविरमा सेवा लिन आएका ५० प्रतिशत महिलाहरुमा प्रजनन् अंगहरुमा संक्रमण (पिआइडी) देखीएको उहाँले बताउनुभयो । हर्मनको गडबढी, पाठेघरमा मासु पाउनु,सरसफाईमा कमी, असुरक्षीत यौन सम्पर्कका कारण यसको संक्रमण हुने गर्दछ । यस्तै पाठेघरबाट असामान्य रुपमा रक्तश्राप हुने, पाठेघर खस्ने, पिसाव नलीको संक्रमण लगायतका समस्याहरुका पनि देखीएको भटट्ले बताउनुभयो ।
“दुई जनामा पाठेघरको क्यान्सरको आशंका गरिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी पठाएका छौ।” भटट्ले भन्नुभयो, “पाठेघर खस्ने समस्या देखीएकाले तीन जनालाई अप्रेसनका लागि सिफारीस गएिको छ र १४ जनाको पाठेघरमा रिङ पेसरी राखिएको छ ।”
गर्भावस्थामा गह्रौं भारी बोक्नु, सुत्केरी भएको समयमा गह्रौं भारी बोक्नु, जन्मान्तर कम हुनु लगायतका कारणले महिलाहरुमा पाठेघर खस्ने समस्या आउने गरेको स्वास्थ्यकर्मीेले बताएका छन् ।
शिविरमा स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा. निता तिमिल्सिना, डा. रेजिना खड्का, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेशबहादुर बिष्ट लगायतको स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए । गाउँघरकै स्वास्थ्य संस्थाहरुमा बिशेषज्ञ चिकित्सकहरुबाट सेवा पाएपछि स्थानीय नागरिकलाई सहज भएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।
पाटन नगरपालिकाको आयोजना र नेपाल मेड जर्मन संस्थाको सहयोगमा नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्थामा निःशूल्क शिविरको आयोजना गरिएको थियो । चैत २२ गते पाटन प्राथमिक स्वास्थ्य केन्द्र, चैत २३ गते सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र चैत २४ गते वसन्तपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको थियो ।
दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन संस्थाले सहयोग गरिरहेको नेपाल मेड जर्मन संस्थाका सम्पर्क महेन्द्र व्यक्ति जोशीले जानकारी दिनुभयो।