बैतडी
बैतडीको दोगडाकेदार गाउँपालिकाले महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । वर्षैपिच्छे एकपछि अर्काे कार्यक्रम गर्दै हालसम्मद दर्जनबढी कार्यक्रम सञ्चालनको क्रममा छन् ।
ग्रामिण क्षेत्रका महिलाहरुको पिडालाई नजिकबाट बुझेकी गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार र जिविकोपार्जनमा टेवा पुग्ने दर्जनौ कार्यक्रम सञ्चालन गरिरहेकी छन् ।

सामाजिक, आर्थिक र पुर्वाधारको लागि महिलाहरुले भोग्दै आएको समस्याहरुलाई उपाध्यक्ष कार्कीले क्रमैसँग सुधारको स्थितिमा पु¥याएकी छन् । उपाध्यक्ष कोशेली कार्यक्रमबाट सुरु भएको महिला लक्षित कार्यक्रम अहिले जिविकोपार्जन र सहज जिवनयापन कार्यक्रम प्राथमिकतामा छन् ।
होरौँ दोगडाकेदार गाउँपालिकामा केही महिला लक्षित कार्यक्रमहरुको विवरण
थप परिस्कृत उपाध्यक्ष कोशेली कार्यक्रम
जिल्लामा दोगडाकेदारबाटै सुरु भएको उपाध्यक्ष कोशेली कार्यक्रम पछिल्ला वर्षहरुमा थप परिस्कृत हुदै गइरहेको छ । सुत्केरी आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि पोषिला खानेकुराको उपाहार स्वरुप कोशेली प्रदान गरिदै आएको उपाध्यक्ष कोशेली कार्यक्रमलाई थप परिस्कृत गरिदै आएको हो ।

गर्भवति र सुत्केरी महिलाहरुलाई लक्षित गरि स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले उपाध्यक्ष कोशेली कार्यक्रम सञ्चालन गरिएको थियो । सुरुका वर्षहरुमा पोषिलो खानेकुरा अन्तरगत दाल, गेडागुडी र व्यक्तिगत सरसफाइका सामाग्री उपलब्ध गराइदै आएको थियो । विगत ३ वर्षदेखि कोशेली कार्यक्रम मार्फत तरकारीका बिऊविजन पनि वितरण गरिदै आएको छ । आफ्नै बारीमा उत्पदान गरी उपभोग गरुन् भनेर तरकारीको विउ वितरण गरिदै आएको गाउँपालिका उपाध्यक्ष कार्कीले बताइन् ।
मातृ शिशुकोष स्थापना
८ वडा रहेको दोगडाकेदार गाउँपालि कामा एक वटा एम्बुलेन्स उपलब्ध छ । गर्भवति र सुत्केरी महिलाहरुको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । यदी सुत्केरी महिलाहरुका लागि एम्बुलेनस उपलब्ध हुन नसकेको पालिकाभन्दा बाहिरका स्वास्थ्य संस्थासम्म लैजानको लागि अर्काे सवारी साधनको प्रवन्ध गरिने र त्यसमा लाग्ने यतायात खर्च सोही कोषबाट उपलब्ध गराउने निति अघि सारेको छ । सुत्केरी महिलाहरुलाई अन्यत्र रेफर गर्नुपरेमा सोही कोषबाट यतायात खर्च उपलब्ध गराउने गरिएको छ । पालिकाभत्र रहेका प्रत्येक वडाका पायक पर्ने टोलटोलमै बर्थिङ सेन्टर रहेको र पालिकाभन्दा बाहिरका संस्थामा मात्रै नभई बैतडी, डडेल्धुरा र धनगढी वा अन्यत्र लैजाने क्रममा लाग्ने खर्च कोषबाट व्यहोर्ने गरिएको उपाध्यक्ष कार्कीले बताइन् । यो कार्यक्रम ४ वर्षदेखि सञ्चालनको क्रममा छ ।

स्थानीय संरचना हुनुभन्दा पहिले अस्पताल लैजान नसकेर सुत्केरी महिलाको मृत्यु भएको घटना घटेको बताउदै उपाध्यक्ष कार्कीले यस्ता समस्या नदोहोरिउन भनेर गर्भवति र सुत्केरी महिलाहरुको लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
मिनि आटामिल वितरण
दोगडाकेदार गाउँपालिकाले ३ वर्षदेखि आटामिल वितरण गरिरहेको छ । बिहानै उठेर जातो पिसेर परिवारको लागि खाना बनाउनुपर्ने ग्रामिण क्षेत्रका महिलाहरुको दुःख अन्त्य गर्नको लागि टोलटोलमा आटाचक्की वितरण गरिरहेको छ । पिछडिएका क्षेत्रका टोलहरुबाट यो कार्यक्रमको सुभारम्भ गर्न लागेको हो । एक टोलमा एक मिनि आटा चक्की वितरण गरिएकोमा यसले महिलाहरुको जिवनयापनमा सहज भएको छ । घट्ट नभएका र मिलपनि टाढाटाढा भएका क्षेत्रहरुमा मिनि आटामिल वितरण गरिरहेको गाउँपालिका उपाध्यक्ष कार्कीले बताइन् ।
लैङ्गिक हिंसा कोष स्थापना
लैगिंक हिंसा कोष स्थापना भएको पनि ४ वर्ष भयो । हिंसामा परेका महिला वा पुरुषहरुको पुनस्थापनाका लागि यो कोषबाट सहायता प्रदान गरिदै आएको छ । लिंगका आधारमा गरिने विभेद अन्त्य गर्नको लागि र हिंसामा परेकाहरुको पुनस्थापनाको लागि यस कोषबाट सहायता उपलब्ध गराइदै आएको गाउँपालिका उपाध्यक्ष कार्कीले बताइन् । हिंसामा परेकाहरुलाई कानुनी उपचार गरी न्यायमा सहयोग पु¥याउने र उनिहरुको जिपिकोपार्जनमा सहजता ल्याउनको लागि सहयोग पु¥याउन गरिएको छ ।
उच्च शिक्षा अध्यायन गर्ने छात्राहरुलाई सहयोग
आर्थिक अवसथा कमजोर भएका छात्राहरुको पढ्ने सपना पुरा गर्नको लागि यो कार्यक्रम सञ्चालन भइरहेको छ । दलित तथा गरिब परिवारका छात्रा तथा महिलाहरुलाई लक्षित गरि स्नातक तहसम्म नै अध्यायन गर्नको लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ । यो कार्यक्रम पनि ३ वर्षदेखि लागु भइरहेको छ ।
जिवकोपार्जन कार्यक्रम
सिप मुलक, तथा पशुपालनका लागि महिलाहरुको मागको आधारमा जिविकोपार्जनका कार्यक्रम गरिदै आएको पालिकाले जनाएको छ । सिलाईकटाइ, पशुपालन कार्यक्रम र कृषि पेशा अपनाउने महिला कृषकहरुका लागि पनि विषेश कार्यक्रम कार्यान्वयन भइरहेको पालिकाले जनाएको छ ।

विगतका दिनहरुमा महिलाहरुले भोग्दै आएका समस्याहरुलाई नजिकबाट बुझेर यहाँसम्म पुगेको बताउदै उपाध्यक्ष कार्कीले महिलाको क्षेत्रमा निकै प्रभावकारी कार्यक्रम कार्यान्वयन गरिरहेकी छन् ।