बैतडी,
गरिब विपन्न परिवारलाई सहायता प्रदान गर्दै आएका काठमाडौंका सहदेव सापकोटा बैतडी पुगेर लक्षित परिवारसँग भेट गरिरहेका छन । आफुले नियमित सहयोग गरिरहेका गरिब, विपन्न परिवारका सदस्यहरुको अवस्था बुझ्न लक्षित परिवारसमक्ष भेट गरिरहेका हुन ।
बैतडीको पाटन नगरपालिका वडा नं ८मा बस्दै आएकी निरा बिष्टको घरमा पुगेर परिवारको अवस्था बुझेका सापकोटाले आज पनि दश हजार नगद सहयोग गरेका छन । सापकोटाले निराका ३ छोराछोरीको पढाइको लागि मासिक ५ हजार रुपैया सहयोग गर्दै आएका छन् ।
पाटन नगरपालिका वडा नं ९ सल्लेबासा बस्ने एकल महिला जसु महरालाई पनि नगद ५ हजार सहयोग गरेका छन् । मानसिक बिरामी रहेकी जसुलाई सापकोटाले नै आर्थिक सहयोग गरी उपचारमा सहयोग गरेका थिए । अहिले तन्दुरुस्त रहेकी जसुले घर धानेर खाइरहेकी छन् ।
पाटन नगरपालिका वडा नं ९ की साहाराबिहिन जानकी धामीलाई ३ हजार सहयोग गरेका छन् । सापकोटासँगै आएका सहकर्मीहरुले पनि नगद सहयोग गरेको पाटन नगरपालिका ९ मा कार्यरत मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्टले जानकारी दिइन् ।
देशका विभिन्न ठाउँमा रहेका अनाथ, बिपन्न, टुहुरा र गरिब परिवार र बालबालिकाहरुलाई सहयोग गर्ने गरेका छन् ।
बैतडीका लागि पाटन नगरपालिका वडा नं ८ मा कार्यरत मनोसमाजिक कार्यकर्ता भुवि बिष्ट र वडा नं ९ मा कार्यरत लक्ष्मी बिष्टले सहजीकरण गर्ने गरेका छन् ।
प्रदेशभरी करिब दुई दर्जन बालबालिकाहरुलाई सापकोटाले नियमित सहयोग गर्दै आएका छन् ।