बैतडी,
बैतडीको सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्नको लागि विश्व बैंकसँग सम्झौता भएको छ । श्रीभावर–दोगाड–लेक–गर्जे सडक कालोपत्रे गर्नको लागि विश्व बैंकसँग सम्झौता भएको हो ।
बिहीबार नेपाल सरकार र विश्व बैंकबिच भएको सम्झौता बमोजिम प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सम्झौता कार्यक्रममा सिगास गाउँपालिकासँग पनि महत्वपूर्ण सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष हरि सिंह धामी र प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले सिगास गाउँपालिकाको तर्फबाट हस्ताक्षर गर्दै सम्झौतापत्र आदान प्रदान गरेका छन् ।
विश्व बैंकले आफ्नै मापदण्डमा सडक स्तरोन्नती गर्ने प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । करिब ५ वर्षभित्र सडक पूर्णरुपमा स्तरोन्नती गरि सकिने बताइएको छ । केहिदिनपछि डिपिआर गर्ने तयारी रहेको छ । गाउँपालिकाको केन्द्रसम्म स्तरोन्नतीसहितको सडक निर्माणका लागि विश्वबैंकले सुदूरपश्चिमका चार पालिकामा सम्झौता गरेको हो ।
स्तरीय सडकको पर्खाइमा रहेको सिगास गाउँपालिकाको लागि यो सम्झौता एक ऐतिहासिक भएको गाउँपालिका अध्यक्ष हरि सिंह धामीले बताए । पालिकाको तर्फबाट ग्रामिण सडकहरु निर्माण गरिएको भएपनि स्तरीय सडकको लागि विश्व बैंकको सहयोगले एक बहुउपयोगी सडक निर्माण हुने गाउँपालिका अध्यक्ष धामीले बताए ।
बैतडीको सिगास सहित कैलालीको चुरे, कञ्चनपुरको लालझाडी, बझाङको सैपाल गाउँपालिकामा स्तरोन्नती तर्फ अघि बढेको छ । बिहीबार भएको सम्झौता कार्यक्रममा संघीय सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालको उपस्थिति थियो ।