बैतडी- जिल्लामा विद्यमान समस्याका रुपमा रहेको बाल विवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्र्तक्रिया गरिएको छ । दलित विकास समाज मंच, बैतडीद्वारा संचालित बालविवाह अन्त्यका लागि छिटो मिलन रोकथाम परियोजना अन्तर्गग कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले बाल विवाह न्यूनिकरणका लागि सबै पक्षको भुमिका जरुरी रहेको बताएका छन् । धार्मिक अन्धविश्वास, चेतनाको अभाव, गरीबी र प्रविधिको दुरुपयोगका कारण पछिल्लो समय बालविवाहका घटना धेरै हुने गरेकाले यसको न्युनिकरणका लागि सबैपक्ष लाग्नुपर्ने जिल्ला अदालत, बैतडीका न्यायधीश तिर्थराज भट्टले बताउनुभयो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि एवं पत्रकार नरी बडुले जिल्लामा बालविवाहको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । उहाँका अनुसार जिल्लामा बालविवाह कति हुन्छ भन्ने एकीन तथ्याङ्क समेत राज्यसंग छैन् । सन् २०१४ मा बालिका दुलही होइनन् नामक अभियानले गरेको सर्वेक्षण अनुसार बैतडीमा ५९ दशमलब ५ प्रतिशत बालविवाह हुने गरेको छ ।
चालु आर्थिक वर्षमा जम्मा एउटा बालविवाहको मात्रै घटना दर्ता भई कानूनी प्रक्रियामा रहेको उहाँको भनाई छ । सामाजिक वैमनश्यताको डरले अधिकारकर्मिहरुले समेत बालविवाह रोकथामका लागि प्रभावकारी कदम चाल्न नसकेको उहाँको भनाई छ ।
कार्यक्रममा उपस्थित अन्य सरोकारवालाहरुले समेत बालविवाह सम्बन्धिका कानूनको प्रभावकारी कार्यान्वय नभएको बताएका थिए । बालविवाहका बारेमा जनचेतनाको अभाव तथा कानुको बारेमा सबैलाई थाहा नहुँदा समेत समस्या हने गरेको नेपाल बार एसोसिएसनका अध्यक्ष हरी भट्टको भनाई छ ।
कार्यक्रमका अध्यक्ष एवं दलित समाज विकास मंच बैतडीका अध्यक्ष सरस्वती नेपालीले संस्थाले विभिन्न ठाउँमा किशोर–किशोरी संजालहरु निर्माण गरी उनिहरुमार्फत जनचेतनाका कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, न्यायधीष, जिल्ला समुन्वय उपप्रमुख, कानुनव्यवसायी, राजनीतिक दलका प्रतिनिधि, किशोर–किशोरी, अधिकारकर्मि एवं विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।