बैतडी:
बैतडीको डिलासैनी गाउँपालिका–२ छेपट्टामा आफ्नै देवरानीको विभत्स हत्या गरी जेठानी प्रहरी चौकीमा पुगेको खुलेको छ ।
सोमबार साँझ करिब साढे ६ बजे ३० वर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ वर्षीया सुनिता बोहराको हत्या गरी नजिकैको सिमार प्रहरी चौकीमा पुगेको खुलेको हो ।
करिब साढे ६ बजेतिर उक्त घटना भएको र त्यसलगत्तै दिपा नजिकैको सिमार प्रहरी चौकीमा पुगेको जानकारी पाएको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एवं प्रबक्ता यज्ञ भट्टले जानकारी दिए । ‘साँझ करिब साढे ७ बजेको समयमा सिमार प्रहरी चौकीबाट घटनाको बारेमा जानकारी पाएको थिए, दिपाले त्यसअघि नै देवरानीको हत्या गरेर आफै प्रहरीमा पुगेकी रहिछन्,’भट्टले भने ।
सुनिताको टाउकोमा करिब २०–२५ चोटसम्म हिर्काएर टाउको क्षतक्षत हुनेगरी चिर्पट प्रहार गरेको स्थानीयहरुले बताएका छन् । टाउकोसहित अनुहार नै नचिनिने अवस्थाको घाउ रहेको बताइएको छ ।
घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँदले सुनिताको टाउँमा निकै बढी चोटहरु रहेको र पोष्टमाटमपछि मात्रै सबै कुरा खुल्ने बताए ।
‘टाउकोमा निकैबढी घाउहरु छन्, आवश्यक कागजी प्रक्रिया पु¥याएर अनुसन्धान थाल्दैछौँ, सबै कारण र अवस्थाबारे पछि खुल्छ’ घटनास्थलमा रहेका प्रहरी निरिक्षक साउँदले भने ।
घरायसी विवादले यस्तो घटना भएको बताइएको छ । घटना हुदा घरमा ससाना बालबालिका मात्रै रहेको बुझिएको छ ।
दिपाका श्रीमानसहित ३ छोराछोरी रहेका छन्, सुनिकाका श्रीमानसहित २ छोराछोरी छन् ।
घरमा ससना बालबालिका र दुवै देवरानी र जेठानी मात्रै रहेको बुझिएको छ ।
दिपाका श्रीमान काठमाण्डौमा छन् भने, सुनिका श्रीमान चालक रहेको बुझिएको छ ।