बैतडी ।
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताएका छन् । बैतडीबाट निर्वाचित सांसद समेत रहेका भण्डारीले आइतबार बैतडीको मेलौली स्थीत एमालेले आयोजना गरेको सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्नेगरी काम गरिरहेको बताए।
उनले सरकारलाई सफल बनाउनका लागि सबै नेता कार्यकर्ताहरुलाई सहयोग गर्न आग्रह गरे ।
जनताको आग्रहमा आएका योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाई छ । पार्टीको सिफारिसका योजनामा पनि जनताको योजना जोडिएको छ की छैन भनेर परिक्षण गरेर मात्रै कार्यान्वयन गरिने उनले बताए ।
मन्त्री भण्डारीले माओवादी अध्यक्ष पुष्पमकल दाहाल "प्रचण्ड" नेतृत्वको निवर्तमान सरकारले एकलौटी ढंगबाट बजेट ल्याएको बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारले एमालेसँग कुनै समन्वयन नगरी बजेट पारित गरेको उनको जिकिर छ ।
‘विगतको सरकारमा म पनि सहभागि थिए, तर म आवद्ध पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै समन्वयन हुने गरेको थिएन, मैले अघि सारेका योजनाहरु कटौती गरिए,’ उनले भने । 'चालु आर्थिक वर्षका योजनाहरु पनि परिमार्जन गरेर कार्यान्वयन गरिने छन्।'
‘परिणाममुखी योजना ल्याउनुपर्छ’
उत्पादनका क्षेत्रमा बजेट ल्याउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिएका छन् । स्थानीयतहदेखि प्रदेश र संघीय सरकारबाट परिणाम दिने खालले बजेट विनियोजन गरि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री उनको जोड छ ।
‘अहिलेसम्म कति सडक पुगे ? सडकको कति उपयोग भयो? यसमा ध्यान दिनुपर्छ । बजेटले प्रतिफल दिएन भने यसको के अर्थ ? त्यसैले कुनैपनि योजनाले परिणाम दिनैपर्ने हुन्छ, उनले भने ।’ उत्पादन वृद्धि गर्ने र रोजगारी सृर्जना गर्नेगरी विकास निर्माणका योजना ल्याउनुपर्नेमा मन्त्री भण्डारीको जोड छ ।