बैतडी,
आर्थिक वर्ष २०७९÷८०को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन अनुसार बैतडीमा सबैभन्दा उत्कृष्ट पुर्चाैडी नगरपालिका रहेको छ । सबैभन्दा कमजोर सुर्नया र पाटन रहेका छन् । यी दुवै पालिकाले ५० प्रतिशत अंक पनि कटाउन सकेका छैनन् । सो नतिजा अनुसार बैतडीमा सबैभन्दा बढी अंक पुर्चाैडी गरपालिकाले पाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार जारी गरेको नतिजा अनुसार पुर्चाैडी नगरपालिकाले ८१.२५ अंक पाएको छ । दोगडाकेदार गाउँपालिकाले ७३.५०, दशरथचन्द नगरपालिकाले ७०.२५, शिवनाथ गाउँपालिकाले ६७.५०, डिलासैनी गाउँपालिकाले ६४, सिगास गाउँपालिकाले ६३.७५, पञ्चेश्वर गाउँपालिको ५९.५०, मेलौली नगरपालिकाले ५७.२५, पाटन नगरपालिकाले ४८.२५ अंक पाएको छ । जिल्लामा सबैभन्दा कम सुर्नया गाउँपालिकाले ४०.२५ अंक मात्रै पाएको छ ।
प्रशासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भातिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहाकार्य र समन्वय गरी १० सूचकमा मुल्याङकन हुने गरेको छ ।
माथि उल्लेखित सूचकअनुसार सम्बन्धित पालिकाले प्रदान गर्ने सेवा प्रक्रिया जोडिएको हुन्छ ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षको आधार प्राप्त गर्ने र स्थानीय सरकारवीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन अवधारणा ल्याइएको हो ।