प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । नेपाल जर्मन फाउण्डेसनको सहयोगमा जिल्लाको पाटन नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पाटनलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।
इलेक्ट्रोलाइट एनालाइजर, हेमोलोटोजी एनालाइजर र फाइन केयर थ्री प्लस मेसिन फाउण्डेसन मार्फत प्राप्त गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले बताए । उक्त मेसिनले मृगौलाको चेकजाँच, थाइराइड चेकजाँच र रगतको चेकजाँच लगायत विभिन्न रोगहरुको चेकजाँचका लागि प्राप्त उपकरणहरुले सहयोग पुग्ने उनले बताए ।
पाटन नगरपालिका ६ घर भई हाल जर्मनीमा बस्दै आएका पुष्पराज जोशीको पहलमा झण्डै ५० लाख बराबरका ती उपकरणहरु प्राप्त गरेको प्रमुख भट्टले बताए । आइतबार प्राथमिक स्वास्थ्य केन्द्रमा पाटनमा आयोजित कार्यक्रममा पुष्पराज जोशीका भाइ महेन्द्र जोशीले उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
उपकरण आएपछि पाटन नगरपालिका भित्रका मात्र हैन बैतडीको मेलौली नगरपालिका,सुर्नया, शिवनाथ र पचेश्वर गाउँपालिका नागरिकलाई सहज हुने प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ ।
स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महरा, स्वास्थ्यकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।