बैतडीसहित सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ । सिंह संक्रान्ति अर्थात् भाद्र संक्रान्तिका दिन सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ओल्के पर्व मनाउने गरिन्छ । ओल्के पर्वमा आफूभन्दा ठुला, मान्यजन तथा जेष्ठ नागरिकलाई सम्मान गर्ने चलन छ ।
बिहानै नुहाइधुवाइ गरी आफूभन्दा जेठा व्यक्ति र मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल, मीठो मसिनो खानेकुरा दिएर सम्मान गर्नु यो पर्वको मुख्य विशेषता रहेको छ । साथै पिङ खेल्ने, देउडा, ठाडी भाका तथा लोकलयमा गीत गाउने गरिन्छ ।
यो पर्व सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायतका ठाउँमा पनि मनाउने गरिएको छ । वर्षायाम शुरु हुनासाथ विभिन्न प्रकोप, रोग र महामारी फैलिन सक्छ भन्ने विश्वासका साथ बिंशु पर्व मनाइन्छ भने यस्ता महामारीबाट जोगियो भनेर खुशीयाली साट्न ओल्के पर्व मनाउने गरिएको विश्वास छ ।
स्थानीय भाषामा पींडालुको भित्रीमा गुबोे दिएर, मिठो मसिनो खाएर र अन्य फरक मौलिक तरिकाले ओल्के मनाइन्छ । वर्खाभरी कामको ब्यस्तताले चेलीबेटी माइत नआउने र आजका दिन आउने भएकाले आमाछोरीको पहिलो भेटका रुपमा पनि लिने चलन छ ।
आजै ‘बुढी’ हाल्ने पर्व
ओल्के संक्रान्तिका दिन गाउँ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हालेको भन्ने गरिएको छ ।
भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ ।