बैतडी,
बैतडीको पाटन नगरपालिका–८स्थित खोड्पे बजारलाई व्यवस्थीत गर्नको लागि छलफल सुरु गरिएको छ । खोका छाप्रा व्यवस्थापन गर्नुपर्ने र सडक फराकिलो र स्तरोन्नतीको लागि आवश्यक छलफल सुरु गरिएको हो ।
शनिबार बजार व्यवस्थापन समितिका पदाधिकारी, व्यावसायी, जनप्रतिनिधिहरुबीच बजारलाई व्यवस्थीत बनाउनको लागि छलफल भएको थियो ।
छलफलका सहभागिहरुले बजारलाई व्यवस्थीत बनाउनको लागि, खोका छाप्रा व्यवस्थापन गर्नुपर्ने, सडकछेउमा नाली निर्माण गर्नुपर्ने, विद्युत लाईन विस्तार गर्नुपर्ने विषयमा धारणा राखेका थिए ।
सडकको एक मिटरभित्रै निर्माण गरिएका खोकाछाप्रा तथा संरचनाहरु हटाउनुपर्ने विषयमामा अधिकांश व्यावसायीहरुले सहमती पनि जनाएका छन् ।
खोका छाप्रा हटाउने र सडक छेउबाट एक मिटरमा निर्माण गरिएका संरचना हटाउने विषयमा अध्यायन गर्न एक समिति पनि गठन गरेको छ । यस समितिले आवश्यक सुझाव र राय प्रस्तुत गरेपछि बजार व्यवस्थापन समितिको अर्काे बैठकबाट निर्णय गरी सडक डिभिजन कार्यालयमा पठाउने बजार व्यवस्थापन समितिका सचिव सन्तोष कुमार राईले जानकारी दिए ।
बजार क्षेत्रमा नाली निर्माण हुनुपर्ने, विद्युतको लाईनलाई बजार क्षेत्रभरी केबल तार राखेर थप व्यवस्थीत गर्नुपर्ने भनाई थियो । यसका लागि विद्युत वितरण केन्द्रसँग पहल गरिने छलफलमा सहभागि वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।
यसैगरी बजारक्षेत्रको फोहोर व्यवस्थापनको लागि पनि आवश्यक अध्यायन र पहलको लागि पनि अर्काे समिति गठन गरिएको छ ।
बजारलाई थप व्यवस्थीत बनाउनका लागि सबै व्यावसायी र घरधनीले आवश्यक सहयोग गनुपर्ने बजार व्यवस्थापन समितिका अध्यक्ष राम सिंह बिष्टले बताए ।
पाटन नगरपालिकाले पनि नगर क्षेत्रभित्र बजारमा सडक छेउमै निर्माण गरिएका खोकाछाप्रा हटाउने निर्णय नै गर्ने तयारी भइरहेको समेत नगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहनु भएका वडा नं ८ का वडा अध्यक्ष बिष्टले बताए । ‘यस विषयमा बिगतमा नै निर्णय गर्ने तयारी थियो, मैले व्यावसायीहरुको सुझाव लिएपछि मात्रै निर्णयमा सहमती जनाउने भनेको छु, लगत्तै निर्णय हुदैछ,’ अध्यक्ष बिष्टले भने ।
सडक डिभिजन कार्यालयले समेत वडा कार्यालय र बजार व्यवस्थापन समितिलाई खोड्पे बजारको सडक चौडा गर्नको लागि आवश्यक छलफलगरी निर्णयमा पुगेर खबर गर्न भनिसकेको छ ।