बैतडीका स्थानीय तहहरुले २५ करोड बढी बजेट खर्च गर्न नसक्दा फिर्ता भएको छ । जिल्लाका १० ओटै स्थानीय तहहरुले गत आर्थिक वर्ष २०८०÷०८१ मा प्राप्त गरेको बजेटमध्ये २५ करोड बढी बजेट फिर्ता गएको हो ।
स्थानीय तहमा सशर्त, समपुरक र बिशेष अनुदान अन्तर्गत प्राप्त भएको रकम मध्ये चालु र पुजिँगत गरेर २५ करोड २१ लाख ९४ हजार ३ सय ६९ रुपैँया खर्च गर्न नसक्दा फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका लेखापाल भवानी भट्टले जानकारी दिए ।
पाटन नगरपालिकाले मध्ये ४ करोड ७७ लाख ८३ हजार १ सय १० रुपैया २१ पैशा खर्च गर्न नसक्दा फिर्ता गएको छ ।
दशरथचन्द नगरपालिकाले २ करोड ९९ लाख २४ हजार ७ सय २५ रुपैयाँ, पुर्चाैडीले ९० लाख १५ हजार ५ सय २६ रुपैँया, मेलौली नगरपालिकाले २ करोड ७२ लाख ७० हजार ६ सय ४० रुपैयाँ खर्च गर्न नसक्दा फिर्ता भएको हो ।
शिवनाथले ३ करोड २९ लाख ३४ हजार ७५६ रुपैया, दोगडाकेदारले ३ करोड ५४ लाख ९९ हजार ७ सय ५८ रुपैयाँ, सुर्नयाले २ करोड ७५ लाख ३६ हजार ७ सय ३९ रुपैयाँ, पञ्चेश्वर गाउँपालिकाले १ करोड ९८ लाख ५० हजार ३६० रुपैयाँ खर्च गर्न नसक्दा फिर्ता भएको छ ।
यस्तै सिगासको १ करोड ५५ लाख ६ हजार ४ सय ६९ र डिलासैनी गाउँपालिकाको ६८ लाख ७२ हजार २ सय ८२ रुपैयाँ खर्च गर्न नसक्दा फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
२ अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६४८ रुपैयाँ बजेट आएकोमा बैतडीका स्थानीयहरुले २ अर्ब ५८ करोड ३१ लाख ६३ हजार २७८ रुपैयाँ खर्च गरेका छन् ।
बिगतको बर्षको तुलनामा स्थानीय तहहरुले खर्चको आकारण बढाएपनि कर्मचारी अभावले सतप्रतिशत खर्च गर्न नसकिएको बताएका छन् ।
यसै गरी संघिय सरकार मातहातका कार्यालयहरुले ४२ करोड ४५ लाख ८८ हजार ९५१ रुपैयाँ खर्च गर्न नसक्दा फिर्ता गएको छ । प्रदेश मातहतका कार्यालयहरुले ४४ करोड ६५ लाख १६ हजार ४ सय ९७ रुपैयाँ खर्च गर्न नसक्दा फिर्ता भएको कोष तथा लेखा निन्यत्रक कार्यालय बैतडीका लेखापाल भवानी भट्टले जानकारी दिए ।