बैतडी
लामो समय देखि विवाद रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बैतडीमा अन्ततः सहमतीमा नेतृत्व चयन भएको छ ।
जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्व सम्मत रुपमा चयन गरिएको छ । उपाध्यक्षमा नरी दत्त बडु तथा बिन्दु चन्द, सचीवमा त्रृप्ती शाही, सह सचीवमा बिनोद सिंह बिष्ट तथा पे्रम वड चयन भएकाछन् भने, कोषाध्यक्षमा डिआर भट्ट चयन भएकाछन् । यसैगरी अन्य सदस्यहरु सहित १८ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।
बिहिबार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्टले नव निर्वाचीत कार्यसमितिलाई पदभार ग्रहण गराएका छन् ।
पदभार ग्रहण कार्यक्रमको सम्बोधन गर्दै नव नियुक्त अध्यक्ष अवस्थीले पत्रकार महासंघ बैतडीमा रहेका सबैखाले समस्यहरु समाधानको प्रयास गर्ने बताएकाछन् । उनले भने,‘क्रियाशिल रहेका पत्रकारहरुको मात्रै सदस्यता नविकरण गरिनेछ । विगतमा बैतडीको पत्रकारीता क्षेत्रमा आवद्ध भई सदस्यता लिएका तर हाल निष्कृय रहेका व्यक्तिहरुको सदस्यता विधान अनुसार हटाइने छ ।’
बैतडीमा गैर पत्रकारहरुलाई सदस्यता दिइएको भन्दै आन्दोलन जारी रहेको छ । गत चैत महिनामा निर्वाचनको तयारी भएका सदस्यता शुद्धीकरणको माग राख्दै आन्दोलन चर्किएको थियो ।
सदस्यता शुद्धीकरणका लागि प्रेस चौतारीका जिल्ला अध्यक्ष समेत रहेका पत्रकार सीपी लोहियाको अध्यक्षतामा सदस्यता छानविन तथा शुद्धीकरण समिति गठन गरिएको छ । पेसागत संगठनहरुहरुका एकएक जना सदस्य रहने गरी शुद्धीकरण समिती गठन गरिएको हो । बिहिबार सम्पन्न पदभार ग्रहण कार्यक्रमका संचालक समेत रहेका लोहियाले अधिकांश समय सदस्यता विवाद तथा शुद्धिकरणका बिषयमा खर्चीए । उनले भने, ‘नयाँ कार्यसमितिले पदभार ग्रहण गरेसंगै सदस्यता सुद्धिकरणको प्रक्रिया अगाडी बढेको छ । शुद्धीकरणका लागि मोटामोटी नामावलि समेत तय भैसकेको छ । अहिले रहेका १सय ३२ जनामध्ये अधिकांश व्यक्तिहरु हटाइने र ५०जनाको हाराहारीमा बाँकी रहने देखिएको छ । हामीले शुद्धीकरणको गृहकार्य थालिरहेका छौँ ।’
देशभरका अन्य जिल्लाहरुमा गत चैत महिनामै जिल्ला अधिवेशन सम्पन्न भएपनि बैतडीमा गैर पत्रकारहरुलाई दिइएको महासंघको सदस्यता खारेज गर्नुपर्ने माग सहित भएको आन्दोलनका कारण निर्वाचन स्थगीत भएको थियो ।