बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका वडा न. ५का वडाअध्यक्ष केशव राज लेखकले सेवाग्राहिसंग माफी मागेका छन् ।
सोमबार वडाका विपन्न नागरिकहरुले आर्थिक सहायताका लागि तयार गरेको तोकादेश सहितको सिफारिस च्यातेका उनले आज आवेसमा गल्ती भएको भन्दै माफी मागेका छन् । उनले क्षमायाचना गरेको पत्र सार्वजनिक गरिएको छ ।
लेखकले लेखेको पत्रमा भनिएको छ, ‘विपन्न दलित, महिलाहरुलाई वडाको विविध बजेटबाट भुक्तानी दिन भनी तोकादेश गरिएकोमा मैले आवेशमा आएर सिफारि च्यातेकोले दलित समुदायको आत्म सम्मानमा ठेस पुगेको हुदाँ क्षमायाची हुदैँ माफी माग्न चाहान्छु ।’ पत्रमा सिफारिस च्यातिएका ११जनाको नाम उल्लेख गरिएको छ ।
हिजो मेयरको तोकादेश सहितको पत्र च्यातिदाँ दलित कार्यपालिका सदस्यहरुले आह्वान गरेको पत्रकार सम्मेलनमा भने लेखकले चोखिन खोजेका थिए । आफुले पत्र नच्यातेको र आफुलाई सुनियोजीत रुपले फसाउन खोजेको जिकिर गरेका थिए । आज भने उनले सबै सामु गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।
हिजो मेयर पुष्कर राज जोशी लख्खाभाइले वडाको विविध रकमबाट ३हजारका दरले सहायता रकम भुक्तानी गर्न प्रमुख प्रशासकीय अधिकृतलाई रातो मसीले तोक लगाएका थिए । तर उक्त सिफारिसपत्रहरु वडाअध्यक्ष लेखकले च्यातिदिएका थिए ।
उनले सिफारिस च्याते लगत्तै कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन आयोजना गरि वडाअध्यक्षले देखाएको व्यवहार विरुद्ध प्रतिकार गर्ने बताएका थिए । दशरथचन्द नगरपालिका भित्र केहि जनप्रतिनिधिहरुबाटै दलित समुदायका व्याक्तिहरु हेपिदैँ आएको कार्यपालिका सदस्य प्रेम दयाल बताउछन् । उनले जिल्लभरीमै सबैभन्दा बढी जातीय विभेद यस नगरपालिका भित्र हुने भएकाले यसको अन्त्यका लागि साथ दिन जिल्ला स्थीत सरोकारवाला निकायलाई गुहार्दै आएको बताए ।
गतबर्ष दशरथचन्द नगरपालिकाकी उपमेयर कौशिला चन्दले सार्वजनिक कार्यक्रममै जातीय भेदभाव तथा छुवाछुतलाई प्रश्रय हुने अभिव्यक्ति दिएकी थिइन् भने त्यसको चौतर्फी बिरोध भएपनि सार्वजनिक रुपमै क्षमायाचना गरेकी थिइन् ।