बैतडी ।
नेपाल जातिय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १८ बर्ष पुगेको छ । २०६३ साल जेठ २१मा नेपालको अन्तरिम संसदले जातिय भेदभाव मुक्त राष्ट्र घोषणा गरेको थियो । तरपनि जातिय विभेदका अवशेष सबैतिर देखिन्छन् ।
उक्त कुरालाई मध्यनजर गर्दै बैतडीको ग्वाल्लेकमा गाउँका ठुलाबडा व्याक्तिहरु बोलाएर जातिय भेदभाव नगर्न कागज तयार गरिएको छ । धामी झाक्रीले काप्ने बेलामा दलितलाई ‘हीन’ भनेर बोलाउने, मन्दीरमा दलितलाई पण्डीतले टिका नलगाउने, पुजापाठमा सरिक हुनबाट बञ्चीत गर्ने लगायतका चलन हटाउन कागज गरिएको हो ।
दशरथचन्द नगरपालिका वडा न. ९ र ११का जनप्रतिनिधि, मन्दीरहरुका पुजारी, धामीझाक्री, स्थानिय व्याक्तिहरु, प्रहरी लगायतको उपस्थीतिमा बृहत छलफल गर्दै कागज तयार गरिएको दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य प्रेम दयालले बताए ।
दलित समुदायका व्याक्तिलाई होच्याएर बोल्ने, होच्याउने प्रकारका उखान टुक्का प्रयोग गर्ने लगायतका चलन हटाउन सबैजना सहमत भएको उनले बताए । पानी धारा, होटेल, पाटीपौवा जस्ता सार्वजनिक स्थानमा छुवाछुतको व्यवहार नगर्ने र छोईछिटोको अन्त्य गर्ने सहमती भएको छ ।
सहमतीमै भएको निर्णयमा नेपालको प्रचलीत कानुनको आधारमा व्यवहार गरिने कुरा उल्लेख गरिएको छ । आगामी दिनमा उक्त निर्णय विपरीत व्यवहार भएको पाइएमा कानुनी कारवाहीका लागि अघि बढ्ने दयालको भनाई छ ।
सहमतीपत्रमा दशरथचन्द नगरपालिका –११का वडाअध्यक्ष जयदत्त पन्त, प्रेम दयाल,स्थानिय धामीझाक्रीहरु, गाउँका भलादमीहरु सहित २०जनाको हस्ताक्षर रहेको छ ।