बैतडी ।
विगत ९ महिना देखिको अतिरिक्त सेवा र विदाको दिन गरेको काम वाफतको रकम नपाएको भन्दै बैतडी जिल्ला अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
आइतबारदेखि इमरजेन्सी सेवा बाहेकका सेवाहरु बन्द गर्दै आन्दोलनमा उत्रिएको बताएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर हरीष चन्द्र विष्टले बताए ।
उनले भने,“मन्त्रालयले आवश्यकता नै नभएका भौतिक कामहरुमा लगानि गरिरहेको छ तर हाम्रो पारिश्रमिकमा कुनै चासो दिएको छैन्, कहिले मन्त्रालयमा छैन् भन्ने, कहिले मन्त्री छैन् भन्ने, एक पटक मन्त्री पनि हुनुभयो हाम्रो माग अघि बढेन्, अहिले मन्त्री छैनन् भन्ने कुरा छ, नयाँ मन्त्री नहुँदासम्म हामीले पारिश्रमिक नपाउने हो भने त्यो दिनसम्म हामी सेवा पनि ठप्प गछौँ, हाम्रा मागप्रति सरकारले चासो नदिएसम्म आन्दोलन रहन्छ ।” निमित्त प्रमुख बिष्टले आजै निमित्तको जिम्मेवारी समेत त्यागेर कार्यकक्षमा ताला लगाएका छन् । उनले जिम्मेवारी छाडेको पत्र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मालाई बुझाएकाछन् ।
मन्त्रालयले आफुहरुको श्रम शोषण गरेको चिकित्सकहरुको आरोप छ । आफुहरु विरामीको सेवामा अहोरात्र खटिदाँ समेत मन्त्रालयले आफुहरुको रकम भुक्तानी नगरेको उनिहरुको आरोप छ । कमिशन मिल्ने उपकरण खरिदमा मन्त्रालय अग्रसर देखिएपनि डाक्टरहरुले काम गरेको रकम भुक्तानीमा मन्त्रालय उदाशीन देखिएको उनिहरुको आरोप छ । डाक्टर बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीहरुले समेत अतिरिक्त सेवा वाफतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर धिरज जैयसवालले बताए । उनले भने ‘हामीले विगतदेखिनै आफुहरुको रकम भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन् ।’
अस्पतालका ९० बढी कर्मचारीले करिव ४९लाख रकम पाउन बाँकी रहेको छ ।
अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका विरामी तथा सेवाग्राहीहरुलाई समेत समस्या हुने देखिएको छ । डाक्टर तथा अस्पतालका कर्मचारीहरुको टोलिले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । जिल्ला अस्पतालका अख्तियार प्राप्त मेसु र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेका छन् तर मन्त्रालय भने बैतडी अस्पतालको समस्यालाई नजरअन्दाज गर्दै बसेको छ । सेवा बन्द हुँदा समेत मन्त्रालय वेखबर छ ।
मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएकाले आफुहरु धनगढीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । आफुहरुको माग पुरा नभएसम्म ओपिडी सेवा संचालन नगर्ने डाक्टर तथा कर्मचारीहरुको अडान छ । जसका कारण यहाँका नागरिकहरुले समेत समस्या भोग्नुपरेको छ ।
यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरुलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरुलाई सुझाव दिए । उनले भने ‘तपाँईहरुका जायज मागको बारेमा मैले पनि सचिव ज्यू संग कुरा गरेको छु आशा छ समस्या समाधान होला, नागरिकहरुलाई तथा बिरामीहरुलाई मर्का पर्ने काम गर्नु भएन् ।’ आन्दोलनका कार्यक्रम गर्ने क्रममा कानुनलाई हातमा लिई कानुन विपरीत काम नगर्न अस्पतालका चिकित्सकहरुलाई उनले निर्देशन दिए ।