बैतडी,
बैतडीको पाटन नगरपालकामा गत शैक्षिक सत्रमा कक्षा ८ को परीक्षाको विषयलाई लिएर विद्यालयस्तरमा चासो बढेको छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायले कक्षा ८ को नतिजालाई लिएर चासो राखेका हुन ।
शनिबार सम्पन्न पाटन नगरपालिका १० स्थित सरस्वती माविको वार्षिकोत्सव कार्यक्रमका सहभागि अतिथिहरुले पनि कक्षा ८ को परीक्षाको नतिजालाई लिएर फरक फरक धारणा राखेका थिए ।
सरस्वती माविका शिक्षक मदन नाथले विद्यालयमा हुने परीक्षामा कुनै पनि विद्यार्थीहरुलाई फेल गर्न नहुने अवधारणाका कारण यस वर्षको कक्षा ८ को परीक्षामा धक्का लागेको जिकिर गरे ।
विव्यस अध्यक्ष धरमराज भट्टले कक्षा ८ को परीक्षा केन्द्र एक मात्रै तोकिदा बालबालिकाहरुमा मनोवैज्ञानिक असर परेकाले नतिजा निरासाजनक आएको बताए । कोभिडका कारणले अघिल्ला कक्षाको स्तर बलियो नभएको हुनाले पनि गत वर्षको नतिजा कमजोर आएको उनको भनाइ थियो । आगामी शैक्षिक सत्रमा विद्यालयले यस वर्षको तुलनामा राम्रो नतिजा ल्याउनेगरी पूर्व तयारी भइरहेको भट्टले बताए ।
कार्यक्रममा छोटो धारणा राखेका वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँरले कक्षा ८ को नतिजाले केही विद्यालयहरुको स्तर देखाइदिएको धारणा राखे ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समितिका सदस्य एवं विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सिंह भाटले पाटन नगरपालिकामा भएको कक्षा ८ को वार्षिक परीक्षामा देखिएको समस्याको पहिचानको लागि गठन गरिएको छानबिन समितिको प्रतिवेदन सार्बजनि गरिनुपर्ने गर्नुपर्ने बताए । पुनरपरीक्षका क्रममा फेल भएका विद्यार्थी को नतिजा ए–प्लस आएपछि शंका उब्जिएको बताए ।
कार्यक्रमका सहभागि पाटन १० का निवर्तमान वडा अध्यक्ष देवेन्द्र कुवँरले कक्षा ८ का परीक्षार्थीहरुलाई दुःख दिने मनसायले नगरपालिकाले ‘एक वडा एक केन्द्र’को अवधारणा ल्याएको सुनाए । सरकारले कक्षा १०को परीक्षा होम सेन्टरमै गराउने निति ल्याइरहेकाबेला पाटन नगरपालिकाले कक्षा ८ का विद्यार्थीहरुलाई दुःख दिएको धारणा राखे ।
अनौपचारिक रुपमा धारणा राखेका केही अभिभावक र शिक्षकहरुले परीक्षा प्रर्णालीलाई कडाइका साथ लागु गर्नुपर्ने र सम्बन्धित निकायले उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका थिए । शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापकीय टिम र सरोकारवाला निकाय सबैको कुनैन कुनैरुपमा कमजोरी देखिएकाले सच्चीनुपर्ने धारणा राखेका थिए ।
बैतडीको पाटन नगरपालिकाले गत शैक्षिक सत्रदेखि कक्षा ८ को नगरस्तरीय परीक्षा फरक तवरले गरेको थियो । नगर शिक्षा समितिले एक वडाको एक परीक्षा केन्द्र तोक्ने र परीक्षामा कडाई गर्ने निर्णय गरेबमोजिम वडा शिक्षा समितिले पनि सोही अनुसार आ आफ्नो वडामा एक परीक्षा केन्द्र तोक्दै परीक्षा गरेका थिए ।
उक्त परीक्षामा अधिकांश विद्यालयको नतिजा निकै कमजोर भएको पाइएको थियो । ७ विद्यालयको नतिजा नील आएको थियो भने ९ वटा विद्यालयमा एकएक विद्यार्थी मात्रै पास भएका थिए ।
कक्षा ८ को परीक्षामा ३५ विद्यालयका सहभागि ६५२ विद्यार्थीमध्ये १३७ विद्यार्थी मात्रै उतीर्ण भएका थिए । यस विषयमा नगरपालिकामा चर्चा चुलिएको थियो । केहीले यसलाई सकारात्मक रुपमा लिएर आगामी दिनमा नतिजा सुधारको लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।
त्यसपछि करिब डेढ दर्जन परीक्षार्थीले उत्तरपुस्तीक पुनः जाँच गरिनुपर्ने भन्दै तोकिएको अवधिमा निवेदन दिएका थिए । ती मध्ये एक जनाको नतिजा (ए प्लस) आएको थियो । यसमा पनि धेरैले नगरपालिकाको तर्फबाट कमजोरी भएको धारणा राखेका थिए ।