बैतडी,
बैतडीको मेलौली नगरपालिका वडा न. २ र ३का किसोर किसोरीहरुलाई प्रजनन स्वास्थ्य तथा हानिकारका प्रचलनहरुको अन्त्य सम्वन्धी प्रशिक्षण दिइएको छ । दलित समाज विकास मञ्च बैतडीले यी दुई वडामा रहेका ४ विद्यालयका किसोर किसोरी समुहलाई प्रशिक्षण दिएको हो । मञ्चले गठन गरेका किसोर किसोरी समूहमा प्रशिक्षण दिई जनचेतना अभिवद्धि गर्दैआएको मञ्चका कार्यक्रम संयोजक जयराम विश्वकर्माले बताए ।
आइतबार मेलौली–०२ सलेना स्थीत स्वास्थ्यचौकीमा आयोजीत प्रजनन स्वास्थ्य सम्वन्धी मञ्चका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नगर प्रमुख भिम बहादुर चन्द(भुकम्प) प्रमुख अतिथी रहेको थिए ।
नगर प्रमुख चन्दले विगतमा प्रजनन् स्वास्थ्यका बिषयमा छलफल नहुने गरेको बताए । उनले विद्यार्थीहरुलाई प्रजनन् स्वास्थ्यबारे पढाउने बेला समेत शिक्षकहरु नै लजाउने गरेको सुनाए । पछिल्लो समय किसोरावस्थामै प्रजनन् स्वास्थ्यको ज्ञान दिने तालिमहरु सञ्चालन हुनु खुसीको बिषय भएको उनले बताए । नेकपा(एमाले) बैतडी जिल्ला सचिवालय सदस्य जगदीश नायकले प्रजनन् स्वास्थ्य बारे जनचेतना अभिवृद्धि गर्दा स्वास्थ्य समस्याहरु समाधान हुने बताए ।
मेलौली २का वडाअध्यक्ष कृष्णदत्त भट्टले किसोरकिसोरीले बालबिवाह प्रजनन् स्वास्थ्यबारे छलफल सञ्चालन गर्दै आएकोमा वडाबाट आवश्यक सहयोग गर्ने बताए । मञ्चकी अध्यक्ष सरस्वती नेपालीले वडा न. २ र३मा किसोरकिसारी समुहहरु गठन गरि जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताइन् । किसोर किसोरीहरुलाई प्रशिक्षण सिनियर अहेव प्रताप नायक लगायत स्वास्थ्यकर्मीहरुले दिएका थिए ।
यसैगरी मेलौली–३ लिखोडा स्थीत सुर्दशन माविका विद्यार्थीहरु संग सोमबार बालबिवाह न्यूनिकरण सम्वन्धी १दिने छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बालबिवाह, लैंगिक हिंसा, छाउपडी प्रथा, जातीय भेदभाव तथा छुवाछुत लगायत हानिकारक प्रचलनका बिषयमा छलफल गरिएको हो ।
छलफलमा विद्यार्थीहरुले गाउँसमाजमा व्याप्त रहेको हानिकारक प्रचलन अन्त्यको अभियानमा लागेको बताए । विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्दले हानिकारक प्रथाको अन्त्य गरि समतामुलक समाज निर्माणमा सरकारी तथा गैरसरकारी निकायको महत्वपुर्ण भुमिका रहने बताए ।
दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले सबै प्रकारका विभेदहरुको अन्त्यका लागि नयाँ पुस्ताले समेत सोच परिवर्तन गर्नुपर्ने बताइन् ।