बैतडी,
बैतडीको दशरथचन्द नगरपालिका वडा न. २ देहिमाण्डौ स्थीत निङ्गलाशैनी खेल मैदानमा क्रिकेट प्रतियोगीता भयो भने दशरथचन्द राजमार्गमै सिमारेखा हालेर खेलाउने गरिन्छ । क्रिकेट प्रतियोगीता सञ्चालनका बखत सवारी साधनहरुलाई सडकमा रोख्न दिइदैन् भने, खेल सञ्चालन गर्न मुस्किल पर्दछ । अहिले भने उक्त मैदानको केहि हदसम्म स्तरोन्नती गरिएको छ । मैदान ठुलो बनाउन जमीन अभाव भएपनि भएको जमिनलाई कटान गरि मैदान बिस्तार गरिएको हो ।
दशरथचन्द नगरपालिकाको ८ लाख रकम बजेटमा मैदानको विस्तार गरिएको दशरथचन्द नगरपालिका वडा न.२का वडाअध्यक्ष सुर्य बहादुर बोहराले बताए । “हालसम्म ६लाख ५० हजारको काम सम्पन्न भएको छ, अब बाँकी रकममा प्याराफिट बनाएर मैदानलाई व्यवस्थीत गर्ने तयारीमा छौँ ।” उनले भने,“यो मैदान जिल्लाकै पायक पर्ने ठाउँमा छ, जिल्ला सदरमुकाम नजिक भएकाले खेल अधिकांश प्रतियोगीताहरु यसै मैदानमा हुने गर्दछन् । त्यसकारण यो मैदानको स्तरोन्नती गर्नु जरुरी रहेको छ ।”
निर्माणाधिन मैदानमा हालका लागि सवारीसाधन पार्किङमा रोक लगाएको छ । यस मैदानमा जिल्ला स्तरीय राष्ट्रपती रनिङ सिल्ड, जिल्ला स्तरीय क्रिकेट तथा क्लवहरुले गरेका क्रिकेट प्रतियोगीताहरु, भलिवल, ब्याडम्यान्टीन, कराते लगायतका सबैजसो प्रतियोगीताहरु हुने गरेकाछन् । स्थानिय खेलाडीहरुले दैनिक अभ्यास खेलहरु खेल्ने गर्दछन् । यसै मैदानबाट खेल जिवन सुरु गेरका दर्जनबढी खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय टीमहरुमा आवद्ध छन् ।
निङ्गलाशैनी भगवती मन्दीरको मेला स्थलकोमा रुपमा रहेको यस मैदानमा बर्षमा दर्जन बढी पटक जात्राहरु लाग्ने गर्दछन् । गौरा, तिज, दशै तिहार,अनन्त चर्तुदशी, महाअस्टमी, जमानी जात, चैते दशैका बेला लाग्ने जात्रामा हजारौँ दर्शनार्थीहरुको घुइचो लाग्ने गरेको छ । सो समयमा यहाँ भव्य रुपले डेउडा प्रतियोगीताहरु हुने गरेकाछन् ।
यो ठाउँ मौसमका दृष्टिकोणले चिसो ठाउँका रुपमा परिचित भएकाले गर्मीको समयमा हुने जिल्ला स्तरीय अधिकांश खेलहरु यस मैदानमा हुने गरेकाछन् ।
मैदानको केहि हदसम्म स्तरोन्नती गरिएपनि अझै क्रिकेट खेलका लागि पर्याप्त भैसकेको छैन् । मैदानको एकापट्टी देहिमाण्डौँ बजार तथा सडक र अर्कोपट्टी वडा कार्यालय लगायतका संरचना रहेकाले जमीन अभावमा मैदानलाई आवश्यकता अनुसार विस्तार गर्नसक्ने अवस्था भने छैन् ।