बैतडीमा चितुवाको गतिविधि नियाल्न स्वचालित क्यामरा जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ५० ओटा स्वाचालित क्यामरा जडान गरिएको हो ।
मानव र वन्यजन्तुको बिच द्धन्द्ध बढेपछि चितुवा र बँदेलको गतिविधि नियाल्न ग्वाल्लेक संरक्षित बन क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिए । मानव र वन्यजन्तुबिच द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा वन्य जन्तु र मावनबिचको सहअस्तित्व कायम गर्न विज्ञटोलीसहित उहाँ बैतडी आइपुग्नुभएको हो । पहिलो चरणमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकासम्म चितुवाको अध्ययन गरिने बताइएको छ । अनुसन्धान टोलीमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सका वन्यजन्तु अध्ययनकर्ता इमिल इरिकसन र कलरा मार्थिनोभिक पनि रहनुभएको छ । युरोपमा मानव–वन्यजन्तुको द्वन्द्व नरहेकाले मानव–वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न उहाँहरू आइपुगेको बताइएको छ ।
उक्त अनुसन्धानपछि यो क्षेत्रका बासिन्दाले सुरक्षा अपनाउन सक्ने आशा गरेको अध्ययन टोलीले बताएको छ । चितुवाको अध्ययन गर्न ५० वटा स्वचालित क्यामरा १५ रातसम्म राखिने छन् । स्वचालित क्यामराले वन्यजन्तुको चाल र शरीरको तापक्रम पाउने बित्तिकै गतिविधि रेकर्ड गर्ने क्यामरा ट्र्यापर मल्लले बताए ।
‘सामान्यतया चितुवाले आफ्नो बासस्थान र आहारा क्षेत्र १० दिनसम्म घुमिसक्छ । विस्तृत अध्ययनका लागि थप पाँच दिन स्वचालित क्यामरा राख्नेछौँ । चितुवाले किन मानिसको सिकार गरिरहेको छ ? जङ्गलमा चितुवाको आहाराका रूपमा घोरल, रतुवा जस्ता के कति वन्यजन्तु छन् ? भन्ने कुरा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ, उनले भने।’
राष्ट्रिय प्रकृति संरक्षण कोषले मेलौली नगरपालिका–९ मा मानव–वन्यजन्तुबिचको द्वन्द्वका विषयमा कार्यक्रम सञ्चालनमा रहेको वडाध्यक्ष लोकराज भट्टले जानकारी दिए । उहाँले चितुवा प्रभावित बस्तीमा स्थानीय दुई वटा सामुदायिक सिकाइ केन्द्रमार्फत आयआर्जनका कार्यक्रम गर्न समुदायलाई १८ लाख रुपियाँ सहयोग मिलेका उनले बताए । साभार :गोरखापत्र दैनिक