बैतडी ।
नेकपा(एमाले) बैतडीको जिल्ला अधिवेशन आजदेखी पाटनमा सुरु भएको छ । पार्टीका वरिष्ट उपाध्यक्ष एंव पुर्व उप–प्रधानमन्त्री इश्वर पोख्रेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै नेता पोख्रेलले एमालेलाई समाप्त पार्ने उदेश्यले बनेको गठबन्धन टुटेको र मिसन ८४को प्रारम्भीक विन्दुको रुपमा वर्तमान गठबन्धन तय गरिएको बताए ।
उनले हिजोको गठबन्धन संविधानको मर्म विपरीत भएका कारण नयाँ गठबन्धन बनेको बताए । उनले भने,“अहिले हाम्रो पार्टी सरकारमा सहभागी हुदाँ आर्कषक मन्त्रालय नलिएको र ठुला नेताहरु मन्त्री नबनेको भन्ने कुराहरु आएको छ, यो कुराले खासै ठुलो महत्व राख्दैन् तर हामी इमान्दरिताका साथ गठबन्धनको मर्म अनुरुप का मगर्ने प्रतिवद्ध छौँ ।” उनले वर्तमान गठबन्धन मिसन ८४को सर्पोटिङ स्टेपको रुपमा रहेको दावी गरेका छन् । बर्तमान गठबन्धन प्रति पार्टी इमान्दार रहेको बताउदैँ उनले सरकारले देशलाई सकारात्मक दिशामा अघि बढाउने संकल्पका साथ कामगर्ने दावी गरे ।
बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद एंव नव नियुक्त उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले आफ्नो कार्यकालमा सुदूरपश्चिममा विकास निर्माणलाई जोड दिने बताए ।
उनले सुदूरपश्चिम र बैतडी जिल्लाको विकासका लागि पार्टीगत पक्षपात रहित कामगर्ने बताए । युवा विदेशीने क्रम रोक्न र पहाडी जिल्लाको बसाइसराईको समस्या हटाउने आधार तय गरिने बताए । पहाड रित्तिने कुराको सुक्ष्म अध्ययन गरि समस्याहरु समाधान गर्ने उनले बताए । एमाले बैतडीको जिल्लाको नयाँ नेतृत्वका सन्दर्भमा मन्त्री भण्डारीले ठुला नेताको इच्छामा आधाररीत नहुने बताए । उनले आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन हुने विश्वास व्यक्त गरे । उनले वास्तविक पार्टी एमाले नै हो भन्ने सन्देश दिने आधारले नेतृत्व चयन गरिने दावी गरे ।
अहिले जिल्ला अध्यक्षका लागि आधा दर्जन व्यक्तिको नाम चर्चामा रहेको छ । अध्यक्षका लागि नरेश विक, नरेन्द्र बिष्ट, हर्क धानुक, हजारी साउँद, लोकेन्द्र भण्डारी, गोविन्द गिरी, लक्ष्मण भट्ट लगायतका व्यक्तिहरुको नाम चर्चामा रहेको छ । अधिवेशनका लागि जिल्लाभरीबाट ६२७ जना प्रतिनिधि चयन भएकाछन् ।