बैतडी,
नेकपा(एमाले)का वरिष्ट उपाध्यक्ष एंव पुर्व उप–प्रधानमन्त्री इश्वर पोख्रेलले वर्तमान गठबन्धन मिसन ८४को सर्पोटिङ स्टेपको रुपमा रहेको बताएकाछन् । उनले बर्तमान सरकारले देशलाई सकारात्मक दिशामा अघि बढाउने संकल्पका साथ कामगर्ने बताएकाछन् ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीद्वारा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उनले हिजोको गठबन्धन अस्वभावीक ढंगको भएकाले नयाँ गठबन्धन तय भएको बताए ।
उनले भने,“हिजोको गठबन्धन संविधानको मर्म अनुरुप थिएन, एमालेलाई सिद्ध्याउनका लागि बनेको थियो, त्यो टुट्नु पर्दथ्यो टुट्यो, अहिलेको गठबन्धन मिसन ८४को सपोटिङ स्टेपको रुपमा हो, गठबन्धनका बिषयमा एमाले अत्यन्त इमान्दार छ, अहिले ठुला लिडरहरुलाई सरकारमा नपठाएको, आर्कषक मन्त्रालयहरु नलिएको भन्ने कुराहरु आएको छ, त्यो कुराले निकै कम महत्व राख्दछ, यस गठबन्धनलाई इमान्दरीताका साथ अघि बढाउन हामी प्रतिवद्ध छौँ, गठबन्धनका बखत गरिएका सबै सहमतीहरु पुरा गरिने छन् ।” उनले आर्थिक समृद्धिका लागि राजनितिक स्थायीत्व जरुरी मिसन ८४ तय भएको हुदाँ सो दिशामा यो गठबन्धन अग्रसर हुने उनले बताए ।
नेता पोखरेलले नेकपा(एमाले)को पुर्ण बहुमत सहितको सरकारले मात्रै देश विकास सम्भव भएको दावी गरे । उनले मिसन ८४को लक्ष्यमा साथ दिन सबैमा आग्रह गरे । नेता पोख्रेल एमाले बैतडीको नवौ जिल्ला अधिवेशनको उद्घाटनका लागि बैतडी पुगेका हुन् ।
नेकपा(एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशन सोमबार देखी हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि पार्टी वरिष्ठ नेता पोख्रेल आइतबार बैतडी पुगेका हुन् ।
अहिले जिल्ला अध्यक्षका लागि आधा दर्जन व्यक्तिको नाम चर्चामा रहेको छ । अध्यक्षका लागि नरेश विक, नरेन्द्र बिष्ट, हर्क धानुक, हजारी साउँद, लोकेन्द्र भण्डारी, गोविन्द गिरी लागयतका व्यक्तिहरुको नाम चर्चामा रहेको छ ।