बैतडी,
बैतडीको पाटन नगरपालिका–२ स्थित सिद्धनाथ माध्यामिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ, भने सिलंगा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। प्रभु बैंकको केन्द्रिय कार्यालय काठमाण्डौमा चिफ बिजनेश अफिसरको रुपमा कार्यरत रश्मी पन्तको सहयोगमा विद्यालयमा अध्यायनरत सबै विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो भने वडा नं २ मै रहेको सिलंगा स्वास्थ्य चौकीमा अक्सिजन कन्सनेटर, थर्मलगन, पल्स अक्सोमिटर लगायतका स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार न्यानो लुगा तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिंह बोहराले जानकारी दिनुभयो । सोमबार विद्यालयको वार्षिकोत्सव कार्यक्रम हुन गइरहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रशाद पन्तको अध्यक्षतामा सम्पन्न लुगा तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, बिशिष्ट अतिथिमा वडा नं २ का वडा अध्यक्ष महेश प्रशाद पन्त, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, लुगा वितरण तथा स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रमका समन्वयकर्ता एवं निवर्तमान वडा सदस्य तथा युवा समाजसेवी दिपेन्द्र प्रशाद पन्त लगायत स्थानीय अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
रश्मी पन्तले वडा नं २मा विगत देखि नै सामाजिक सहयोगका कार्यक्रम गर्दै आउनु भएको छ । यसअघि सोही वडाको भुमिराज आधारभूत विद्यालय टोटीपोखरी, भृकुटी आधारभूत विद्यालय ठल्कुडामा पनि न्यानो लुगा वितरण गरिएको समन्वयकर्ता दिपेन्द्र प्रशाद पन्तले जानकारी दिनुभयो ।
यसैगरी केही दिनमा बारागर आधारभूत विद्यालयमा पनि न्यानो लुगा वितरण गरिने उहाले बताउनुभयो ।