बैतडीको मेलौली नगरपालिकामा बन्ने भनिएको १५ शैयाको अस्पतालको लागि आवश्यक समन्वय गर्न नगरपालिकाका सामाजिक विकास संयोजक वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टको संयोजकत्वमा हजीकरण समिति गठन गरिएको छ । वडा नं १ र ७ का वडा अध्यक्ष सदस्य रहने गरी ३ सदस्यीय सहजीकरण समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।
समितिले वडा सम्बद्ध सरोकारवाला प्रतिनिधिहरुसँग क्रमागत रुपमा छलफल गर्ने जनाएको छ । जग्गादातादेखि सबै राजनितिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीय अगुवासँग यो समितिले अवाश्यक छलफल गर्ने सहजीकरण समितिका संयोजक लोकराज भट्टले बताए । ‘वडा नं १ का वडा अध्यक्ष ज्युले आफ्ना वडाका नागरिक जग्गादाता देखि सबै दलका प्रतिनिधिहरुसँग छलफल गर्नुहुन्छ, वडा नं ७ का अध्यक्ष ज्युले पनि सोही अनुसार छलफल गर्नुहुन्छ, सयुक्त रुपमा पनि छलफल गर्छाैँ,’ सहजीकरण समितिका संयोजक भट्टले भने ।
औपचारिक रुपमा जग्गादाता र सबै राजनितिक दलका प्रतिनिधिहरुसँग छलफल गर्ने समितिको भनाइ छ । यो समितिले तेश्रो बिकल्प खोज्ने विषयमा पनि छलफल गर्ने जनाएको छ ।
अस्पताल बनाउनुपर्नेमा कार्यपालिका सदस्यहरु सबै सहमत भएकाले अन्तिम निष्कर्समा पुग्नै पर्ने संयोजक भट्टले बताए । नगरपालिकालाई सबैतिरबाट अस्पताल बनाउनै पर्छ भनेर दवाव आएकाले पनि अस्पताल निर्माण प्रक्रिया अघि बढाउनै पर्ने उनको भनाइ छ ।
वडा नं १ र ७ का वडा अध्यक्षले आफु आबद्ध राजिनितक दलसँग पनि समन्वय गरेर यो प्रक्रियामा मजबुद ढंकले सहजीकरण गर्नेमा विश्वसत रहेको सहजीकरण समिति संयोजक भट्टले बताए । दुवै अध्यक्षले एक ठाउँमा बनाउने भन्नेमा सहमती गराएमा आफु स्वीकार गर्न तयार रहेको पनि भट्टको भनाइ छ । छलफलमा नयाँ सिराबाट जानुपर्ने स्थिति रहेको उनको भनाइ छ ।
वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले नयाँ सहजीकरण समितिबाट हुने निर्णयलाई अघि बढाउनेबारे कार्यपालिकामा छलफल भएको बताए । मेलौलीमा हालसम्म अस्पताल नबन्नु ठुलो कमजोरी भएकाले अब अस्पताल निर्माणको प्रक्रियामा ढिलाइ गर्नै नहुने उनले बताए । ‘विगतमा सुरुवातमा भएको के हो, सरकारको अवधारणा के हो, कहाँनिर कमजोरी भए, यी सबैबाट पाठ सिकेर, अघि बढ्नुपर्छ, अस्पताल बन्छ भन्नेमा म विश्वस्त छु ।’ अध्यक्ष भट्टले भने ।
विगतमा भएका अभ्यासरुलाई पनि अनुसरण गरेको छलफल अघि बढाउनुपर्ने वडा नं १ का वडा अध्यक्ष सरद सिंह नेगीले बताए । ‘जग्गा दान गरेपछिका अभ्यासहरुलाई पनि आत्मसाथ गर्नुपर्छ, विगतको कार्यपालिकाबाट भएको निर्णयलाई हेर्नुप¥यो, त्यसपछि भएका प्रक्रियाका सवालमा पनि ध्यान दिनुप¥यो, पहिलेको कार्यपालिका पनि अहिलेको कार्यपालिका जस्तै हो, त्यसबाट पनि केही निर्णय भएका छन््, मन्त्रालयबाट आएको परिपत्रलाई पनि हेर्नुपर्छ,’ उनले भने ।
नगर प्रमुख भीम बहादुर चन्दले अस्पताल निर्माण गर्नको लागि सबैले सहयोग गर्नुपर्ने बताए । ‘सबै पक्षसँग छलफल गर्दैछौँ, सहजीकरण गरिदिनुप¥यो, जनताले हामिलाई निर्णय गर्ने अधिकार दिएको छ, कार्यपालिबाट निर्णय गर्छाैँ,’ नगर प्रमुख चन्दले भने ।
विगतमा पनि कार्यपालिबाट निर्णय भएका छन् नी ? भन्ने प्रश्नमा नगर प्रमुख चन्दले बिगतमा डिपिआर तयार देखि मन्त्रालयको परिपत्रमै त्रुटी भएको बताए । ‘डिपिआर देखि अन्य कुरामा त्रुटी भएको छ, अब नयाँ ढंकले जानुपर्ने छ ।’
के हो मेलौली अस्पतालको बिवाद?, हालसम्म के के प्रक्रिया भए?
बैतडीको मेलौली नगरपालिका–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्र स्तरवेद्धिगरी १५ शैयाको अस्पताल निर्माणको लागि २०७० सालदेखि विवाद छ । जग्गा हस्तान्तणको बिषय सुरुदेखिको अहिलेसम्म कायमै छ ।
१५ शैयाको अस्पतालका लागि १५ रोपनी जग्गा आवस्यक पर्ने नितिअनुरुप सुरु देखि नै जग्गा खोजी गर्न थालिएको थियो । केशरपुर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले २०७० देखि अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा पटक पटक खोजी गरीरहेको थियो ।
केशरपुर स्वास्थ्य केन्द्रमा २०७० असोज ६ गते केशरपुर स्वास्थ्य व्यवस्थापन समितिको बैठकबाट अस्पताल निर्माणका लागि जग्गादाता खोज्ने पहिलो निर्णय गरियो । त्यसपछि २०७० कार्तिक २०, २०७०पुस २० र २०७० पुस २४ गतेगरी थप तीन पटक जग्गा खोज्न बसेको बैठकबाट जग्गा उपलब्ध भएको थिएन । केशरपुर स्वास्थ्य केन्द्र परिसरमै कसैले पनि जग्गा दिन इच्छा देखाएनन् ।
त्यसपछि मेलौली नगरपालिका–१ का स्थानीयहरुले मेलौली–१ बिट्ठेनामा जग्गा उपलब्ध गराएका थिए । सुरुवातमा लगातार चार वटा बैठकमा जग्गा उपलब्ध गराउन नसकेका मेलौली–७ का स्थानीयहरुले बिट्ठेनामै अस्पताल लैजाने भयले तीन महिनापछि २०७१ बैशाखमा १५ रोपनी जग्गा दान गरेका थिए । केशरपुर स्वास्थ्य केन्द्र परिसरकै स्थानीयहरुले जग्गा उपलब्ध गराएका थिए ।
पहिले बिट्ठेनाबसीले जग्गा उपलब्ध गराएको हुनाले मेलौली १ बिट्ठेनामै अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढाइन लागिएको थियो ।
मेलौली–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल निर्माण हुनुपर्ने माग सहित वडा नं ७ बासीले बेला बेला तत्कालिन स्वास्थ्य कार्यालय हुदै स्वास्थ्य मन्त्रालय समक्ष समेत ज्ञापन पत्र पेश गरीरहे । नगरपालिकामा समेत बेला बेला ज्ञापनपत्र सहित ध्यानाकार्षण गरीरहे ।
विवादकाबीच न मेलौली नगरपालिका–१ को बिट्ठेनामा अस्पताल निर्माणको पक्रिया अघि बढ्यो न केशरपुर स्वस्थ्य केन्द्रमै । दुबै ठाउँबाट सोही प्रयोजनको लागि जग्गा दान भइसकेपछि उल्झन सुरु हुदै गयो । २०७१ देखि बिवाद सुरु भएको २०७४ सालसम्म बिवाद कायमै रहेपछि २०७४ फागुनमा स्वास्थ्य मन्त्रालयबाट उक्त बजेट तथा बन्ने भनिएको १५ शैयाको अस्पतालको योजना नै कटौती भयो ।
त्यसपछि तत्कालिन (निवर्तमान) नगर प्रमुख कृष्ण सिंह नायकले स्वास्थ्य मन्त्रालयको योजना साखामा योजना कटौतीको बिषयमा बुझे । जग्गा बिवादकै कारण उक्त योजना कटौती भएको योजना साखाबाट जानकारी पाए । त्यसपछी स्वाथ्य मन्त्रालयले पनि अन्तिम मौकाको रुपमा कार्यापालिकाबाट स्थान छनौटगरी निर्णय गर्न भनियो । तत्कालिन नगर प्रमुख कृष्ण सिंह नायकका अनुसार २०७४ सालको चैत्र २१ गते र २२ गते नगरपालिकाको पूर्ण बैठकबाट बृहत छलफल गरी मेलौली नगरपालिका–१ को बिट्ठेना मै १५ शैयाको अस्पताल निर्माण गर्ने र केशरपुर स्वास्थ्य केन्द्रमा नगरपालिकाबाट एक करोड बजेट बिनियोजन गरी केहि थप संरचना निर्माण गर्नेगरी सहमती जनाइयो । उक्त कार्यपालिका बैठकको निर्णय स्वास्थ्य मन्त्रालयमा पेश गरी बिट्ठेनामै अस्पताल निर्माणको प्रक्रिया सुरु गर्ने तयार थालिएको थियो ।
यतिमात्रै होइन स्वास्थ्य मन्त्रालयले २०७८ पुस २० गते बिट्ठेनामै अस्पताल निर्माणको लागि डिपिआर गर्न समेत पत्राचार गरेको थियो । मेलौली १ को बिट्ठेनामा अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले डिपिआर स्वीकृत गरी टेण्डर समेत खोल्न नगरपालिकालाई पत्राचार गरीसकेको थियो । नेपाल हेल्थ सेक्टर सर्पाेट पोग्राम (एनएचएसएसपी)ले डिपिआर गरेको क्षेत्र बिट्ठेनामै अस्पतल निर्माणको लगि ठेक्का खोल्न गत २०७९ कार्तिक ६ गते पत्राचार गरेको थियो । तर नगरपालिकाले टेण्डर आह्वान गरेन। दुबैपक्षको विवादका कारण टेण्डर आह्वान गर्न नसकेको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले बताएका थिए ।
तत्कालिन समयमा स्थलगत अनुगमन गरेको नापी कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय र जिल्ला मालपोत कार्यालय बैतडीको सयुक्त प्रबिधिक टोलीले गरेको अनुगमनमा केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल बन्नुपर्ने आधार सहित तयार पारेको प्राविधिक प्रतिबेदनमा उल्लेख गरिएको वडा नं ७ बासीको दाबी छ । उक्त प्राबिधिक प्रतिबेदनमा बजार क्षेत्रको पहुँच, खानेपानीको व्यवस्था, सडक पुर्वाधारले छोएको लगायतका आधारमा केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल बन्नुपर्ने भएपनि नगरपालिकाले निर्णय गर्दा उक्त प्राबिधिक प्रतिबेदनको वास्ता नगरेको वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले गत वर्ष नै बताएका थिए । सोही दावी सहित वडा नं ७ बासीले बेलाबेला नगरपालिकालाई ध्यानाकार्षण सहित पालिकालाई ज्ञापनपत्र बुझाइरहेका थिए ।
बिट्ठेनाका स्थानीयले अघि नै जग्गादान गरेको र प्रक्रिया समेत अगाडी बढीसकेकाले नगरपालिकाको पूर्ण बैठबाट सहमतीसहित बिट्ठेनामै १५ शैयाको अस्पताल निर्माणको निर्णय गरिएको निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायकले बताउछन् । २०७४ चैत्र २१ र २२ को पूर्ण बैकमा सबै कार्यापालिका सदस्यहरुको रायसुझाजव र सहमतीमा बिट्ठेना मै अस्पताल निर्माण गरीसकेको हुनाले सोहि निर्णयलाई आधार मानी स्वास्थ्य मन्त्रालयले ठेक्का आह्वानको लागि परिपत्र समेत गरेको उनको दाबी छ ।
सुरुवात देखिको जग्गा विवादको बिषय अहिले उत्कर्षमा पुगेको छ । मेलौली नगरपालिका वडा न १ बिट्ठेनाबासीहरुले केशरपुर स्वस्थ्य केन्द्रलाई स्तरोउन्नती गर्ने र नयाँ बन्न लागेको १५ शैयाको अस्पतालको प्रक्रिया बिट्ठेनामै बन्नुपर्ने भनाई राख्दै आएका छन् ।
पुरानो केशरपुर स्वास्थ्य केन्द्र स्तरबृद्धीको योजना भएको र उक्त ठाउँमा जमिन समेत उपलब्ध गराइसकेको हुनाले केशरपुरमै १५ शैयाको अस्पताल बन्नुपर्ने वडा नं ७ बासीको भनाइ छ ।
बिभिन्न सम्भाव्यता अध्ययनबाट समेत २०१६ सालमा स्थापना भएको केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल निर्माण गर्नुपर्ने आधार देखाएकाले केशरपुरमै अस्पताल निर्माण हुनुपर्ने वडा नं ७ का दाबी रहने गरेको छ । बिट्ठेनामा दान गरिएको जमिन एकलौटी नभई टुक्राटुक्रा गरी दान गरिएको र नजिकै ठुलो क्षेत्रफलमा सरकारी जमिन रहेको उनीहरुको दाबी छ ।
दुबै क्षेत्रका स्थानीयहरुले आ–आफ्नै दाबी राखीरहेका कारण गत वर्ष पालिकामा आन्दोलन र झैझगडाको स्थिति समेत भएको थियो । दुबै पक्षले सडक अबरुद्ध पार्ने, तालाबन्दी गर्ने र झडपको समेत स्थिती आएको थियो । २०७९ पुस ७ गते भएको झडपमा परी करिब ३५ जना घाइते भएका थिए । लगातारको आन्दोलनका कारण नगरपालिकाले पनि स्वास्थ्य मन्त्रालयले बिट्ठेनामै अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्न जारी गरेको परिपत्र कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका तत्कालिान प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले बताएका थिए ।