बैतडी,
बैतडीको मेलौली नगरपालिकामा बुधबार बस्ने भनिएको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका सदस्यको गणपुरक संख्या नपुगेपछि कार्यपालिका बैठक स्थगित भएको हो ।
बुधबार कार्यपालिका बैठकको बस्ने विषयमा तीन दिन पहिले नै सूचना र जानकारी गराइएएको भएपनि न्युनतम १० जना कार्यपालिका सदस्य समेत उपस्थित नभएपछि बैठक स्थगित गरिएको नगर प्रमुख भिम बहादुर चन्दले जानकारी दिए । मेलौलीमा १९ सदस्यीय कार्यपालिका छ । अर्काे बैठकका लागि केहिदिनमा नै सूचना जारी गरिने नगर प्रमुख चन्दले बताए ।
यसरी कार्यपालिकाको बैठक बस्न नसक्दा नगरपालिकामा तत्कालै गर्नुपर्ने काम प्रभावित बन्न पुगेको वडा नं ८ का वडा अध्यक्ष तपेन्द्र सिंह बिष्टले बताए । ‘पञ्जीकरण साखाको विषय, कर्मचारी व्यवस्थापन र राष्ट्रपनि रनिङ शिल्ड लगायतका विषय तत्कालै गर्नुपर्ने छ, तर आजको बैठकले प्रभावित पा¥यो,’ अध्यक्ष बिष्टले भने ।
नगर उपप्रमुख पार्वती बोहरा बिष्ट नगरपालिकाकै काम विषेशले धनगढीमा कार्यक्रममा छिन् । ‘नगरपालिकाकै कामले धनगढीमा छु, त्यसैले बैठकमा उपस्थित हुन सकिएन,’ उपप्रमुख बिष्टले भनिन् ।
नगरपालिकामा लामो समयदेखि विवाद रहेको १५ शैयाको अस्पताल निर्माणको विषय कार्यपालिकामा राखिने पूर्ववत जानकारी भएकाले आजको बैठक बस्न नसकेको आशंका छ । वडा नं १ र ७ मा दुवै ठाउँका स्थानीयहरुले जग्गा उपलब्ध गराएपछि अस्पताल निर्माण प्रक्रिया विवादमा छ । यो विषयमा कार्यपालिकामा विषेश महत्वका साथ हेरिने गरिन्छ ।
२०७० सालमा नै १५ सैयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट बजेट आएको भएपनि जग्गा विवादले अघि बढ्न सकेको छैन ।
वडा नं १ र ७ का स्थानीयहरुको विवादका कारण सम्पूर्ण मेलौलीबासीलाई स्वास्थ्य सेवा प्राप्तिका लागि समस्या भएको अन्य वडाका जनप्रतिनिधिहरु बताउछन् ।