बैतडी जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा एनआरवाइसी बठ्ठा विजयी भएकाे छ। एनआरवाइसीले पञ्चकाेटी क्रिकेट क्लब,बुड्डालाई ६ विकेटले पराजित गर्याे। जितका लागि पाएकाे ९८ रनकाे झिनाे लक्ष्य एनआरवाइसीले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा कल्पेश चन्दले अविजित ३९ र प्रदीप चन्दले ३६ रनकाे याेगदान गरे। एक समय १५ रन जाेड्दा २ विकेट गुमाएर धर्मराएकाे पारीलाई प्रदीप र कल्पेशले ७६ रनकाे साझेदारी गर्दै जित सुनिश्चित गरे। पञ्चकाेटीका कैलाश बुडालले २ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे पञ्चकाेटी २२.३ ओभरमा ९७ रनमा अलआउट भयाे। उसका सुमित बुडालले सर्वाधिक २८ रन बनाए। एनआरवाइसीका भुपेन्द्र चन्दले ४ र प्रदीप चन्दले ३ विकेट हात पारे । अलराउन्डर प्रदर्शन गरेका प्रदीप खेलका म्यान अफ द म्याच भएका स्काेरर द्राेपती कुँवरले जानकारी दिनुभयाे।
त्यसअघि प्रतियोगिताकाे नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै उद्घाटन गर्नुभयो। बैतडी जिल्ला क्रिकेट संघकाे आयोजनामा सञ्चालन हुने बिडिसिए कपकाे याे २० औं संस्करण हाे।
प्रतियोगितामा सहभागी हुने १३ टाेलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयो ।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेकाे बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले बताउनुभयाे।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियाेगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।