स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभएको छ।
बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा २० औ संस्करणको बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिताकाे उद्घाटन समारोहमा बाेल्दै स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेकाे बताउनुभएको हाे।
देशकाे नम्बर १ खेल क्रिकेट बनिसकेको अवस्थामा पनि स्थानीय सरकारले अझै याे खेलकाे विकासका लागि स्थानीय तह सक्रिय नरहेका चन्दकाे भनाइ छ। उहाँले भन्नुभयो," स्थानीय तहहरूले क्रिकेट खेलमा लगानी गरिरहेका छैनन् । यसले खेल र खेलाडीप्रति अपमानकाे महसुस भएकाे छ।, युवाहरूको चाहना क्रिकेटमा छ। तर याे खेलप्रति लगानी छैन्। "
देशका उच्चस्तरका नेता क्रिकेट जित्दा बधाई मात्रै दिने गरेका भएपनि यसकाे विकासमा ध्यान जान नसकेकाे चन्दले बताउनुभयाे ।
आफ्नो गृहजिल्ला समेत रहेकाे बैतडीको क्रिकेटमा ठुलाे याेगदान रहेकाे बताउदै यहाँका स्थानीय सरकारले भाैतिक पुर्वाधार निर्माण कार्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे," बैतडीमा क्रिकेटको ठुलाे क्रेज छ,भाैतिक पुर्वाधार अभावका कारण खेलाडीले आफ्नो क्षमताकाे प्रदर्शन गर्न सकिरहेका छैनन्,"।
सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा खेलमैदान रहेपनि दशरथचन्द नगरपालिकाले मैदान संरक्षण र निर्माणमा ध्यान नदिएको चन्दकाे टिप्पणी छ।
वि स २०५५ सालमा बैतडी जिल्ला क्रिकेट संघ स्थापना भएको र २०५७ सालमा जयट्रफीबाट बैतडीले राष्ट्रिय प्रतियोगिता खेलेकाे थियाे। बैतडीमा दशरथचन्द माेमेरियल क्रिकेटले बैतडी क्रिकेटको शुरूवात र बेस बनेकाे हाे ।
आफू राजनीतिभन्दा माथि उठेर क्रिकेटको विकासका लागि लागिपरेकाे बताउदै निर्माणाधिन दशरथचन्द क्रिकेट मैदानका लागि आफ्नै पहलमा सरकारले ५० लाख बजेट सरकारले छुट्टयाइएको बताउनुभयो ।
खेलाडीका लागि अनुशासन मुख्य कुरा भएकोले यसमा ध्यान दिन अनुराेध गर्दै चन्दले राम्रो प्रदर्शन गर्ने खेलाडीलाई अन्याय हुन नदिने बताउनुभयो ।
यस्तै उद्घाटन समारोहमा बाेल्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले क्रिकेटले नेपाललाई विश्वलाई नै चिनाएकाे भएपनि पुर्वाधारमा निर्माणमा पछाडि रहेकाे बताउनुभयो । उहाँले भन्नुभयो," कमजाेर पुर्वाधारकाबिच नेपालकाे प्रदर्शन राम्रो छ। सरकारले टुक्रे याेजना भन्दा क्रिकेट मैदानलाई प्राथमिकता दिनुपर्छ।"
बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले खेलाडी हितकाेश स्थापना तयारी भइरहेको बताउनुभयो ।
पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १३ क्लबकाे सहभागीता रहेकाे छ। प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।