सरकारले स्थानियतहको निर्वाचन आगामी ३० बैशाखका लागि घोषणा गरेसंगै चुनावको चर्चा चल्न थालेको छ । यसैबिच गाउँपालिकाको अन्तिम तथा १०औँ गाउँसभाकै दिन बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः गाउँपालिका अध्यक्षका लागि उमेदवारी घोषणा गरेकाछन् ।
बिहिबार १०औँ गाउँसभाको सम्बोधन गर्दै आफु आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उमेदवार बन्ने बताएका धामीले सुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समेत आफु अध्यक्षमा दोहोरिने कुरामा जोड दिए । आफ्नो नेतृत्वमा गाउँपालिकाले विकास निर्माणमा तिव्रता पाएको बताउदैँ उनले यस कार्यकालमा गरेको कामका कारण चुनाव जित्ने दावी गरे ।
उनले भने,‘यस गाउँपालिकाका बासिन्दाहरु र वर्तमान जनप्रतिनिधिहरु समेत मलाई नै अध्यक्षका लागि सहयोग गर्ने बताइरहेकाछन् । म नेपाली कांग्रेसबाट विजयी भएको भएपनि अन्य दलका व्यक्तिहरु समेत मलाई अध्यक्ष बनाउन लागि परेकाछन् ।’ आफु नेपाली कांग्रेसबाट पुनः टिकट पाउनेमा विश्वस्त रहेको बताएका धामीले स्वतन्त्र उमेदवार बनेपनि आफ्नो जीत सुनिश्चीत भएको दावी गरे ।
आफ्नो कुशल नेतृत्वदायी भुमिकाका कारण अहिले सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको बताए ।
यसैगरी नेकपा एमालेबाट निर्वाचित सिगास ९ का वडाअध्यक्ष लक्ष्मी चन्दले पनि गाउँसभालाई सम्बोधन गर्दै अहिलेकै टिम दोहोरिनुपर्ने बताइन् । आफुहरुले निर्वाचित भएपछि जनपृय कामहरु गरेको भन्दै उनले आगामी निर्वाचनबाट अहिलेकै टिम दोहोरिएमा गाउँपालिकाको विकास हुने बताइन् ।
गाउँ कार्यपालिकाका प्रवक्ता समेत रहेका सिगास ५का वडाअध्यक्ष रामबहादुर धामीले समेत अहिलेकै जनप्रतिनिधिहरु आगामी निर्वाचनका लागि बलिया उमेदवारको रुपमा रहेको बताए । आफुहरु निर्वाचित भएपछि सिगास गाउँपालिकामा विकासको मुल फुटेको भन्दै उनले आफुहरु पुनः नेतृत्वमा आए विकास निर्माणका कार्यले पुर्णता पाउने बताए ।