कैलालीको गेटामा उपचारका क्रममा बालकको मृत्यु भएको आज चार दिन भइसकेको अवस्थामा आफन्तहरूले बालकको शव उठाउन मानेका छैनन् । आफ्नो माग सम्बोधन नभएसम्म शव नउठाउने मृतक बालकका आफन्तले बताएका छन् । मृतकका परिवारजन र क्लिनिक सञ्चालकबीच सहमति हुन सकेको छैन ।
क्लिनिक सञ्चालकले क्षतिपुर्ती दिन आनाकानी गर्न थालेपछि आफन्तले पनि शव नउठाउने अडान लिएका हुन् । ‘हाम्रो निर्दोष छोरालाई गैह्रजिम्मेवारपूर्ण तरिकाले हत्या गरिएको छ, हामिले त्यतिकै कसरी छोड्ने?’ बालकका आफन्त करन ऐरीले भने, ‘उचित क्षतिपुर्ती हुनुपर्यो, नत्र हामि शव बुझ्दैनौँ ।’प्रशासनिक निकाय र अन्य सम्बन्धित निकायले पनि यस विषयमा चासो नदिएको आफन्तको गुनासो रहेको छ ।
यतीका दिन भइसक्दा समेत स्थानीय प्रशासन देखि सम्बन्धित निकायले कुनै चासो नदिएको ऐरीको भनाइ छ । अब माग पुरा नभएमा आन्दोलन समेत अघि बढाउने आफन्तको चेतावनी रहेको छ । ‘हामीले छलफलबाटै अघि बढ्न खोजेका छौँ, माग पुरा नभए अब आन्दोलन गर्छाैँ,’ करन ऐरीले भने ।
बालकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
मंगलवार साँझ कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटा बस्दै आएका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाए लगत्तै मृत्यु भएको थियो ।
ज्वरो आएपछि मंगलवार साँझ डिलासैनी क्लिनिकमा सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भईसकेको थियो ।