बैतडी ।
बैतडीको पाटन नगरपालिकाले दम्पतीहरु बीच गरिने जोडी सम्वाद र किसोर–किसोरीका लागी सञ्चालन गरिएको रुपान्तरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । पीसवीनले सञ्चालनल गरेको उक्त कार्यक्रम आगामी बर्ष सकिने भएकाले उक्त कार्यक्रमको प्रभावकारी अध्ययन गरि निरन्तर सञ्चालन गर्ने नगर प्रमुख गौरी सिंह रावलले बताए ।
नगर प्रमुख रावलको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा उहाँले जोडी सम्वाद कार्यक्रमले समाजमा जनचेतनाको अभिवृद्धि गरेको बताए । जोडी सम्वाद तथा रुपान्तरण कार्यक्रमका समाजमा व्यप्त हानिकारक प्रचलनहरुका विरुद्धमा जनचेतना अभिवृद्धि गर्नुका साथै मानव अधिकार तथा प्रचलीत कानुनहरुको बिषयमा छलफल गरिन्छ । यस कार्यक्रममा लैंगिक हिंसा न्युनिकारण गर्न दम्पती तथा परिवार बीच सामुहिक र एकल सम्वाद गर्ने गरिएको छ ।
लैंगिक हिंसा न्यूनिकरणका लागि सञ्चालन गरिएको उक्त कार्यक्रम पाटन नगरपालिकाका ५ वडामा चलेकाले अन्य वडाहरुमा चलाउन जरुरी रहेको नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिस्ना भण्डारीले बताइन् ।
घरेलु हिंसा र सामाजिक कु–संस्कारका रुपमा स्थापीत हानिकारक प्रचलनहरुको अन्त्य गर्न बैतडीमा “जोडी सम्वाद” नामक कार्यक्रम सञ्चालन गरिएको हो ।
जोडी सम्वादमा हिंसा जोखीम रहेको समुदायमा रहेका पती–पत्नीका जोडीहरुलाई बोलाएर प्रशिक्षण गर्ने गरिएको छ । जनचेतनाको अभाव र प्रचलीत कानुनहरुको ज्ञान नभएका व्यक्तिहरुलाई जोडी सम्वाद मार्फत सचेत गराइएको पीसवीनका जिल्ला कार्यक्रम संयोजक माधव भट्टले बताए ।
उनले भने, “हामीले गत बर्ष र यस बर्ष गरी ३सय ६६जोडीहरुलाई प्रशिक्षण गरेका छौँ, यस कार्यक्रमबाट जनचेतना अभिवृद्धि भएको पाएका छौँ ।”
जोडी सम्वादमा पती–पत्नी बिच एक्लै र जोडीमा सम्वाद गराइन्छ । यसैगरी एकदिन पारिवारीक सम्वाद भन्दै ४जना परिवारका सदस्यलाई समेत बोलाएर सम्वाद गराइन्छ ।
पतिपत्नी बिचको सम्वन्धमा सन्तुलन कायम गर्ने, महिला र पुरुषको असमान शक्तिमा समानता ल्याउने, सम्मानीत जीवनयापन गर्न सघाउने, परिवारलाई खुसी बनाउने, प्रजनन स्वास्थ्यबारे सचेत गराउनुका साथै बालबिवाह, बहुबिवाह, महिला हिंसा, घरेलु हिंसा, लगायतका हानिकारक प्रचलनहरु हटाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।