बैतडी,
बैतडीको सुर्नया गाउँपालिका–७ छीडामालमका प्रेम बहादुर बिष्ट २५ वर्षदेखि परम्परागत रुपमा मौरी पालन गरिरहेका छन् । करिब ७० घार मौरी पाल्दै आएका बिष्ट वर्षमा दुई क्वीन्टल मह उत्पदान गर्छन् ।
स्थानीय जातका मौरी पालेका बिष्टले परम्परागत तवरले व्यवसाय गरिरहेका हुन् । स्थानीय जंगलको काठबाट मौरीका घारहरु बनाएका छन् । घरमा घार राख्न ठाउँ नभएपछि बाटो तथा भीरमा समेत मौरीका घारहरु राखेका छन् । ‘सुरुमा सानोबाटै मौरी पलानको सुरुवात गरेको हुँ, बढाउदै यहाँसम्म ल्याइ पु¥याएको छु, घार राख्ने ठाउँ नभएर चर्पीका भित्ता हुदै बाटोको किनार र भीरपाखामा पनि राखेको छु,’ बिष्टले भने ।
बिष्टले श्रीमती र छोराछोरी गरि ६ जनाको परिवार मौरी पालन व्यावसायबाटै पालीरहेका छन् । वर्षमा दुई पटक मह निकाल्ने बिष्टले एक पटक मह निकाल्दा एक क्वीन्टल मह निकाल्छन् । ‘चैत– बैशाखको बिचमा एक पटक र कात्तिक–मंसिरमा दोश्रो पटक गरि दुई पटक मह निकाल्छु, एक पटक निकाल्दा एक क्वीन्टल बढी हुन्छ,’ बिष्टले भने ।
हालसम्म उत्पदान हुदै आएको महले बजार पनि पाइरहेको छ । स्थानीय बजार र जिल्ला बाहिर पनि मह निकासी हुने गरेको छ । बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको बिष्ट बताउछन् ।
परम्परागत तरिकाले नै मौरी पालन गरिरहेका बिष्टलाई मौरी जोगाउन निकै धौधौ हुने गरेको छ । स्थानीइ काठका मुडाबाचट बनाइएका घारहरुमा जंगली जनावर मलसाप्रोले मौरी खाने गरेको छ । मलसाप्रोबाट बचाउन उनलाई निकै समस्या रहेको छ । यसैगरी वर्षादको समयमा पनि चिसोबाट बचाउन निकै सकस हुने गरेको छ । बाटोको छेउ तथा भीरपाखामा राखिएका घारमा मौरी बचाउन निकै सकस हुने बिष्ट बताउछन् ।
लामो समयदेखि मौरी पालन गरिरहेका बिष्टले हालसम्म कुनै निकायबाट सहयोग पाएका छैनन् । केहि प्राबिधिक तथा व्यवसायिक रुपमा मौरी पालनबारे तालिम समेत पाएको अवस्थामा अफुले व्यवसाय बृद्धि गर्ने लक्ष रहेको उनि बताउछन् । ‘अनुदान त परै जावस, सामान्य तालिम पनि पाएन, रानी मौरीका व्यवस्थापनको बारेमा समेत तालिम पाएको छैन,’ बिष्ट भन्छन्, ‘आधुनिक घार र मौरी पालनबारे प्राबिधिक तालिम पाए भने दुई सय बढी घारमा मौरी पाल्न सक्छु,’ बिष्टले भने ।
सुर्नया गाउँपालिका ७ को उक्त छीडामालम टोल मौरी पालनका लागि राम्रो सम्भावना रहेको अर्का स्थानीय बिरेन्द्र बिष्ट बताउछन् । यहाँ प्राकृतिक रुपमा पनि राम्रो ठाउँ छ, मौरी पालनको हबको रुपमा यस क्षेत्रलाई विकास गर्न सकिन्छ, बिरेन्द्र भन्छन् । बिरेन्द्रले पनि १५ घार मौरीका पालेका छन् । सुर्नया गाउँपालिकामै मौरी पालन व्यवसायलाई बृद्धि गर्न सकिने बिरेन्द्र बिष्ट बताउछन् ।
मौरी पालन गरिरहेका किसानहरुको लागि अनुदानको कार्यक्रम ल्याउन लागेको सुर्नया गाउँपालिकाले जनाएको छ । मौरी पालन व्यवसायलाई आधुनिक प्रबिधिको मौरी पालन गर्न प्रेरीत गर्ने, घार व्यवस्थापन लगायतका कार्यक्रम ल्याउन लागेको सुर्नया गाउँपालिकाका कृषि साखा प्रमुख नरेश बिष्टले बताए । ‘बिष्टले पराम्परागत रुपमा मौरी पालन व्यवसाय गरिरहनु भएको रहेछ, हामिले उनको लागि थप कार्यक्रम ल्याउछौँ,’ कृषि साखा प्रमुख बिष्टले भने ।