बैतडी।
बैतडीको दोगडाकेदार गाउँपालिका–४ स्थीत ढुङ्गेपानी, बजगाउँ, महरगाउँ लगायत ७ गाउँका बासिन्दाहरुका लागि लिफ्टीङ्ग खानेपानी आयोजना निर्माण कार्य भैरहेको छ ।
यी गाउँका बासिन्दाहरुलाई खानेपानीको तड्कारो समस्या भएपछि सुदुरपश्चिम प्रदेश सरकारको बजेटमा खानेपानीको बहुबर्षीय आयोजना निर्माण थालिएको हो ।
निर्माण कार्य सुरु भएको अहिले ३बर्ष पुरा भएको छ भने, आगामी आर्थिक बर्षमा योजना सम्पन्न गर्ने लक्ष्य छ ।
योजनाको आधा भन्दाबढी काम सम्पन्न भएको निर्माण समिति अध्यक्ष घनश्याम भट्टले बताए । उक्त खानेपानि आयोजना निर्माण पश्चात ढुङ्गेपानी, बजगाउँ, महरगाउँ, बिनसेरी, ढाण, पार्स र सलानी गाउँका बासिन्दाहरु लाभाम्वीत हुने उनले बताए ।
खानेपानी कफल्डी गाड खोलाबाट तान्न लागिएको हो । जसका लागि आयोजनाकै तर्फबाट विद्युत विस्तार गरिएको छ भने, ४लाख ७०हजार रकमको विद्युत ट्रान्फर्मर खरिद गरेर जडान गरिएको छ ।
अहिले ४० हजार लिटरका २ र २०हजार लिटर क्षमताको १ टंकीहरु निर्माण गरिएको छ । १हजार ७सय मिटर फलामको जीआई पाइप बिछाउने काम सकिएको छ ।
ढुङ्गेपानी, बजगाउँ र महरगाउँमा लिफ्टीङ्ग बाहेक खानेपानीको विकल्प छैन् । अहिले त्यहाँका ६५ परिवारका करिव ४सय स्थानियबासीहरु २ किलोमिटर टाढाबाट पानी बोक्न बाध्य छन् । त्यँहाका बासिन्दालाई बर्खामासका २–३ महिना बाहेक पानी पिउनै मुस्कील हुने गरेको मल्लाघारी टोलकी जानकी भट्टले बताइन् ।
खानेपानी आयोजनामा ३बर्षको अवधीमा ७७लाख रकम उपभोक्ता समिति मार्फत खर्च भैसकेको छ । उक्त आयोजनामा खानेपानी कार्यालयबाटै पाइपहरु वितरण गरिन्छन् ।
आयोजना सम्पन्न हुदाँ सम्म ९०लाख रकम लगानी हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ । आयोजना अन्तरगत ६५ धाराहरु निर्माण गरिने निर्माण समिति अध्यक्ष भट्टले बताए ।