बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर बजार क्षेत्रमा जहाँतहीँ सिसा फालिन्छन् । पसल वरपर, नाली र सडक छेउछाउ तथा खाली चौरमा जहाँतहीँ सिसा देखिन्छन् । सोही ठाँउको सन्सेरीमाण्डौ बजार क्षेत्रमा पनि जहाँतहीँ सिसा फाल्ने गरिएको छ । यी ठाउँमा मात्रै होइन, जिल्लाका अधिकांश बजार क्षेत्र तथा सडक छेउछाउमा सिसा अव्यवस्थित रुपमा फाल्ने गरिएको छ ।
‘गाउँघरतिर मदिराका पसलहरू थुप्रै खुले, सिसीहरू जहाँतहीँ फालिन्छन्,’ सुर्नया गाउँपालिका–४ स्थित पञ्चदेव आधारभुत विद्यालयका शिक्षक भान बहादुर महरा भन्छन्, ‘ग्रामीण बजारहरू मदिरा पसलले भरिन थाले, सिसाले वातावरण भरियो,’ । जहाँतहीँ फुटेका सिसाले विद्यार्थीहरूका लागि हिँडडुलमा समस्या आएको शिक्षक महरा बताउँछन् । ‘हिडडुल गर्ने बाटो तथा ग्रामीण सडक र खेतहरूमा समेत सिसाहरू धेरै छन्,’ ।
ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै मदिरा पसलहरु पनि छ्यापछ्याप्ती खुलेपछि गाउँघरमा समेत प्रत्यक्ष असर पुर्याइरहेको मेलौली नगरपालिका–१ की सुनिता दयाल बताउछिन् । ‘सडकको सहज पहुँच पुग्यो, मदिराका पसलहरू बढी खुले, यसले समाजिक रुपमा प्रत्यक्ष असर पु¥याएको थियो नै, जहात्यही सिसा फालिनाले वातावरणीय समेत प्रभाव पा¥यो, घरखेत गर्दा हिँड्नै समस्या हुन्छ, जहाँत्यँही सिसा छन्,’ ।
घर नजिकै रहेको मेलौली काँडा बजारबाट मदिरा बिक्री हुने र आसापासका क्षेत्रमा सिसैसिसा फालिने गरिएको दयाल बताउछिन् ।
सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध धार्मिक क्षेत्र मेलौली भगवती मन्दिर परिसरमा समेत प्लास्टिक र सिसाजन्य वस्तु फालिने गरिएको मेलौली धार्मिक सेवा समितिका संयोजक जगदिश सिंह नायकले बताए । ‘यो प्रदेशकै प्रशिद्ध धार्मिक क्षेत्र हो, यस वरपार थुप्रै प्लाष्टिक र सिसाका बोतल तथा टुक्राहरू छन्, जहाँतहीँ सिसा फाल्ने गरेका छन्,’ उनले भने ।
ग्रामीण क्षेत्रमा रहेका ससाना बजारहरु रहेको र मदिराजन्य पदार्थको बिक्रीवितरणले ठुलै सहरहरुको झल्को दिइरहेको बताउनुहुन्छ सिवनाथ गाउँपालिकाका मनोज ठकुराठी । दैनिक उपभोज्ञका सामान नपाइएने ग्रामिण बजारमा मदिरा छ्यप्छ्याप्ती खुलेको उनि बताउछन् । ‘दैनिक उपभोज्ञका सरसामान नपाइने बजारहरुमा रक्सी थुप्रै पाइन्छन्, साबुन तेल पाउन गाह्रो होला, मदिरा छ्यापछ्याप्ती पाइन्छ’ ।
मुख्य राजमार्ग तथा शाखा सडकहरूमा समेत जहाँतहीँँ सिसा फालेको देख्न सकिन्छ । ‘पहिले मदिराजन्य सिसिहरु बिक्रि हुन्थे, आजभोली बिक्री समेत हुन छोड्यो, जहाँतहीँ फालिन्छन्,’ पाटन नगरपालिका–५का स्थानीय व्यापारी धर्मराज जोशी भन्छन्, ‘सिसाको व्यवस्थापन छैन, पेय पदार्थका खाली सिसि र सिसाका टुक्राहरू जहात्यँही देख्न सकिन्छ,’।
सिगास गाउँपालिकाको गाजरी, सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौ, रौलेश्वर, मेलौली नगरपालिकाको काणा बजार, पञ्चेश्वर गाउँपालिकाको कुलाउ, शिवनाथ गाउँपालिकाको सुल्लेखान लगायतका बजार क्षेत्रहरुमा जहातहीँ मदिराका सीसीहरु फाल्ने गरिएको छ । जिल्लाका मुख्य राजर्मागका बजारहरुमा समेत व्यवस्थीत विसर्जन नगर्ने गरेको पाइएको हो । पाटन नगरपालिका, दशरथचन्द नगरपालिकाले मुख्य बजार क्षेत्रबाट फोहोर संकलन गर्ने गरेको भएपनि व्यवस्थीत रुपमा विसर्जन नगर्ने गरेको पाइएको छ ।
पाटन नगरपालिकाले बजार क्षेत्रबाट ओसारेर सडक छेउमै फाल्ने गरेको छ । मेलौली पाटन–पञ्चेश्वर सडकखण्ड छेउमै सिसा फाल्ने गरिएको छ । यसैगरी सुर्नया नदीमा समेत सिसाहरु फाल्ने गरेको पाइन्छ । ‘दिसाभन्दा सिसाले मानिसको जिवन जोखिममा छ, हामिले खुलादिसामुक्त क्षेत्र घोषणा ग¥यौँ, अब सिसामुक्त क्षेत्र पनि घोषणा गर्नेगरी कार्यक्रम ल्याउछौँँ,’ पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले भने । सिसाको स्थायी व्यवस्थापन गर्ने तयारी गर्ने उपप्रमुख बोहराले बताए ।
स्थानीय सरकार गठन भएपछि पालिकाको केन्द्र र वडातहसम्म नै सडकको सहज पहुँच पुगेको र पछिल्लो समयमा मदिरा पसल खुल्ने क्रम ह्वात्तै बढेको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउँद बताउछन् । जिल्लामा ६५० मदिरा पसलहरु रहेकोमा ५ सयभन्दा बढी मदिराका पसलहरु ग्रामिण क्षेत्रमा रहेको सूचना अधिकारी साउँद बताउछन् ।
स्थानीय बजारहरुमा मदिरा बिक्रिवितरण बढ्दो अवस्थामा रहेको र सोही अनुसार सिसा व्यवस्थापनमा ध्यान नदिएको पाइएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । ‘यहाँका बजारहरुमा सिसा जताततै फालिनरे गरिन्छ, व्यापरीहरुलाई सहिं ढंगले व्यवस्थापन गर्न भनिरहेका हुन्छौँ, प्रमुख प्रशासकीय अधिकृत अवस्थीले भने, पालिकाबाट पनि छुट्टै व्यवस्थापन गर्न सकेका छैनौँ’ ।
जिल्लाको सदरमुकासँग जोडिएको दशरथचन्द नगरपालिकाले पनि अव्यवस्थीत रुपमा डम्पीङ साईडमा सिसा फाल्ने गरेको पाइएको छ ।
यसरी जथाभावि सिसा फाल्नाले वातावरणीय प्रभाव र जोखिमसँगै स्वास्थ्यमा पनि प्रतिकूल असर पु¥याउने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्ट बताउछन् । ‘सिसामा जम्ने पानीबाट लामखुट्टे, किर्नाजस्ता रोगसार्ने किराहरु बढ्ने गर्दछन्, यसले बिभिन्न सरुवा रोगको जोखिम बढ्छ,’ ।
अजैविक फोहोरको रुपमा रहेको सिसा व्यावस्थापनका यहाका स्थानीयहरुले चासो नदिएको पाएको छ । कच्चा पदार्थको रुपमा धातुजन्य वस्तु लगायत, सिसा, रबर, प्लाष्टिक, काँच लगायतका वस्तुहरुलाई कलकाराखानामा लगेर प्रसोधन गरी पुनः प्रयोगमा ल्याउन सकिन्छ ।
वातावरणीय असन्तुलन समेत कायम राख्ने भएकाले सिसा लगायत प्लाष्टिकजन्य वस्तुहरुको व्यवस्थापमा ध्यान दिन आवस्यक रहेको वातावरण बिज्ञहरु बताउछन् ।
सरकारले जारी गरेको राष्ट्रिय वातावरण निति,(२०७६)मा पनि औद्योगिक उत्पादनमा प्रयोग हुने रसायन तथा कच्च पदार्थसँगै आउने पारो(मर्करी),सिसा तथा अति वाष्पशील जैविक पदार्थ जस्ता रासायनलाई आवस्यकता अनुसार नियन्त्रण तथा व्यवस्थापन गरिने उल्लेख गरिएको छ । तर स्थानीय स्तरमा जहाँतहीँ प्लास्टिक तथा सिसाजन्य वस्तुहरु विसर्जन गर्ने गरिएको छ । स्थानीय तहले फोहोर व्यवस्थापनसँगै सिसाजन्य फोहोरको उचित व्यवस्थापन गर्न नसकेको पाइएको हो ।