बैतडी,
बैतडीको पाटन नगरपालिका ९ को सरस्वती आधारभुत विद्यालयमा दिउसो १ बजेको समयमा बजेको घण्टीले खाजा खाने समयको संकेत गर्यो । दिवाखाजा खानको लागि विद्यार्थीहरु लहरै उभिएर धारामा हात धुन थाले । हात धुने तरिकाबारे विद्यार्थीहरु जानकार छन् । साबुन पानीले मिचिमिचि हात धोइसकेपछि टेबलमा खाजा आइपुग्छ, अनि खान सुरु गर्छन् ।
खाजा खाइसेपछि बालबालिकाहरु खेल्न थाल्छन् । आफुलाई मन पर्ने बालउद्यानका संरचनामा गएर खेल खेल्छन् । बालबालिकाहरुका लागि उपयुक्त संरचना बनेको हुनाले विद्यार्थीहरु रमाएर बस्ने गरेका छन् । बालउद्यानका सामग्री, शौचालय र कक्षाकोठा बालैमत्री छन् । जसले बालबालिकाहरुलाई सिकाईमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सहज हुने गरेको छ ।
कोठा पनि खुला र आकर्षक देखिन्छन् । बस्नका लागि कार्पेटमाथी म्याट्रेस र कुसुम लहरै मिलाएर राखिएको छ । पर्याप्त उज्याला कोठाहरुमा फरक फरक तर आकर्षक शैक्षिक सामग्रीले कक्षाकोठा सजाइएको छ । भित्तामा बालबालिकालाई आकर्षित गर्ने कार्टून चित्रहरु बनाइएका छन् । बालबालिकाहरुलाई कार्टूनमा लेखिएका अक्षरहरु मन पर्ने भएकाले यस्ता सामग्रीहरु राखिएको विद्यालयका प्रधानाध्यापक केशवबहदुर चन्दले बताए । कक्षाकोठा आकर्षक र बसाई सहज हुँदा सिकाईमा मद्दत पुगेको पनि प्रअ चन्दको अनुभव छ ।
विद्यालयमा बालबालिकाहरुको उपस्थिति बढेको छ । बालबालिकाहरु उत्साहपूर्वक खेलिरहेका, पढिरहेका र रमाइरहेका देखेर प्रधानाध्यापक चन्द पनि दंग छन् ।
आकर्षक कक्षाकोठा, बालउद्यान, बालमैत्री धारा र शौचालय निर्माण भएको दुई वर्ष भयो । यी संरचना बनेपछि विद्यार्थीहरुको उपस्थिति पनि बढ्दोछ । ‘पहिले साधारण कोठा थियो काठकै डेस्कबेन्च थिए । खेल्ने चौर समेत राम्रो थिएन । बच्चाहरु नियमित विद्यालय जाँदैनथे,’ पाटन ९ की मनिषा भण्डारीले भनिन्, “अहिले छोराछोरी नियमित विद्यालय जान्छन् । पढाईमा पनि प्रगति भएको छ ।”
सोही वडाको ज्ञानेश्वर नमुना माविमा पनि बालमैत्री संरचना छ । बालउद्यान र कक्षाकोठाहरु आकर्षक भएकाले बालबालिकाहरु रमाएर सिक्ने गरेका छन् । बैतडी जिल्लाका सबै पालिकामा ५६२ सामुदायिक र सस्थागत विद्यालयहरु छन् । यहाँका सबै विद्यालयमा बालमैत्री शैक्षिक संरचना निर्माणको लहर नै चलेको छ । पालिकाहरुले शिक्षा विकास तथा समन्वय इकाईसंग पनि समन्वय गरेर काम गरिरहेका छन् । कुनै विद्यालयमा नयाँ संरचना निर्माण गर्नुपर्दा त्यसलाई अनिवार्य रुपमा बालमैत्री बनाइने गरिएको जानकारी शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका सुचना अधिकारी पुष्करराज शर्माले दिए ।
हावा र प्रकाश छिर्ने कक्षा कोठा, ससाना बालबालिकाले सहजै प्रयोग गर्नसक्ने धारा र सबैखाले अपांगता भएका विद्यार्थीहरुका लागि अवस्था अनुसार प्रयोग गर्न सकिने संरचना निर्माणलाई यहाँ अनिवार्य शर्तका रुपमा लिइएको छ ।
‘विद्यालयमा रहुन्जेलको समयमा विद्यार्थीहरुले रमाएर सिक्नुपर्छ,’ उनले भने, ‘यसोभयो भने छिटो सिक्ने र सकारात्मक आनीबानीको पनि विकास हुन्छ, र शिक्षण सिकाईमा गुणात्मक विकास हुने गर्दछ,’ मेलौली नगरपालिका ७ स्थित मणिलेक माविका प्रद्यानाध्यापक रमेशदत्त बागले बताए ।
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ मा उल्लेख भए अनुसार आफ्ना क्षमता र गति अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय बालमैत्री हो । बालबालिकाको रुचि, उमेर र इच्छा अनुरुप पठनपाठन गर्नुपर्ने हुन्छ । सोही अनुरुपको संरचना आवश्यक हुन्छन् । जुनसुकै जातजाति, भाषा, धर्म, लिङ्ग, आर्थिकस्तर शारीरिक एवं मानसिक अवस्थाको आधारमा विना भेदभाव विद्यालयमा भर्ना गरी बालबालिकाहरुबीच बालमैत्रीपूर्ण व्यवहार गरी सिकाइमा प्रभावकारिता ल्याउन सकिन्छ । यस्ता विद्यालयमा बालबालिका अनुकुलको सिकाइ वातावरण तयार पारिन्छ । पढाइ लेखाइका अतिरिक्त स्वास्थ्य एवं सुरक्षा र आनीबानीमो बिशेष ध्यान दिइन्छ । कुनै पनि प्रकारका भौतिक, शारीरिक एवं मानसिक दण्ड सजाय बर्जित हुन्छ र बालबालिकाहरुलाई दुव्र्यवहार र नोक्सानीबाट बचाउने काम निरन्तररुपमा भइरहन्छ ।
शौचालय, धारा, बालउद्यान, खेल्नेचौर सबै बालबालिकाहरुका लागि उपयुक्त हुने किसिमले निर्माण गरिन लागिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । भट्टका अनुसार शुरुवाती कक्षाबाटै सुधार गर्ने लक्ष अनूरुप काम भइरहेको छ । पाटन नगरपालिकाले बालमैत्री शिक्षण सिकाई क्रियाकलाप र बालमैत्री शासन कायमका गर्नका लागि शिक्षकहरुलाई समयसमयमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गरिरहनुपर्ने पनि ठानेको छ । बालमैत्री संरचना नभएका विद्यालयहरुले पनि नयाँ संरचना निर्माण गर्दा बालबालिकाको सहजता अनरुपको निर्माण गर्ने योजनामा छन् । बालमैत्री संरचनाले विद्यालयमा सिकाई सहजता र विद्यार्थीको उपस्थितिमा वृद्धि भई गुणस्तरमा समेत टेवा पुग्ने गरेका कारण नयाँ संरचना बनाउदा बालमैत्री संरचनामा जोड दिइने सुर्नया गाउँपालिका ४ मा रहेको नेपाल राष्ट्रिय माविका शिक्षक प्रकाश भाटले बताए ।
बालमैत्री संरचनाले भरिपूर्ण वातावरण नबनाएसम्म बालबालिकाहरुमा सिकाई प्रभावकारी नहुने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रेम सिंह भाटले बताए । सबै विद्यालयमा बालमैत्री कक्षा कोठा, शौचालय, धारा अनि बालउद्यानका सामग्रीको व्यवस्थापन गर्नुपर्ने उनको जोड छ । ‘बालबालिकाहरुलाई रुची अनुसारको शिक्षा प्रदान गर्न आवश्यक छ, सबै बिद्यालयमा बालबालिकाहरुलाई रमाएर सिक्ने वातावरण सिर्जना गर्नुपर्यो,’ उनले भने ।
बालबालिकाहरुलाई रमाएर सिक्ने अवसर सबै विद्यालयमा हुनुपर्ने दशरथचन्द नगरपालिकाका बाल सञ्जाल अध्यक्ष रेजिना टेलरले बताइन् । बालबालिकाले रमाएर सिक्ने अवसर प्रदान गर्नका लागि सबै स्थानीय तहहरुले आवश्यक कार्यक्रममा जोड दिनुपर्ने उनले बताइन् । शिक्षक, अविभावक र व्यवस्थापन समितिले पनि यसबारे विशेष ध्यान दिनुपर्ने उनको धारणा छ ।
बालमैत्री संरचनाको लागि पालिकाबाट नयाँ कार्यक्रमको थालनी गरिन लागिएको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले बताए । ‘सामुदायिक बिद्यालयको जग बलियो बनाउने लक्षमा छौँ, त्यसको सुरुवात पूर्वप्राथमिक शिक्षाबाटै गर्ने योजनामा छौं । बालमैत्री संरचना पनि मुख्य प्राथमिकताको विषय हो,’ पालिका अध्यक्ष धामीले भने ।
‘सबै विद्यालयमा आकर्षक कक्षाकोठा समेत थिएन । दुई वर्षदेखि प्रत्येक विद्यालयमा आकर्षक कक्षाकोठा अनिवार्य गरेका छौँ,’ सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्टले भने, ‘सुधारको सुरवात पूर्व प्राथमिक कक्षाबाटै गरिरहेका छौँ,’ उनले भने ।
बालबालिकाहरु विद्यालयमा रहदासम्म बढीभन्दा बढी समय रमाएर सिक्ने वातावरण बनाउने उद्देस्यका साथ नयाँ कार्यक्रम तथा योजना ल्याउने पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले बताए । ‘प्राथमिक तहको शिक्षालाई प्रभावकारी बनाउन स्तरीय र बालबालिका सुहाउदो संरचनामा जोडि दिएका छौँ, सोही अनुसार शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षित समेत गरीरहेका छौँ,’ नगर प्रमुख रावलले भने । शिक्षक, विद्यार्थी, अविभावकबीच हुने अन्तरक्रिया कार्यक्रममा बालबालिकाले पाउनुपर्ने सबै सेवा सुबिधाका बिषयमा पनि चर्चा गरिने गरिएको उनले बताए । ‘भौतिक निर्माणमा कुनै कसर बाँकी राख्दैनौँ । पालिकाबाट सक्नेजति काम गरिन्छ तर शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अविभावक, विद्यार्थी र सबै सरकोकारवाला निकायले लाग्नुपर्यो, त्यसका लागि पालिकाबाट हुने सबै सहयोग गछौँ,’ नगरप्रमुख रावलले भने ।
सिकाई अभिवृद्धिका लागि फरक अभ्यास
भौतिक सुधार र बालमैत्री संरचनामा जोड दिइरहेका बैतडीका सबै पालिकाहरुको प्राथमिकता अब सिकाई अभिवृद्धितिर जान थालेको छ । विद्यालय शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहको हो भन्ने कुरा यहाँका पालिकाहरुले बुझ्न थालेका छन् । शिक्षक दरबन्दी मिलान र विद्यालय मर्जगरी शिक्षण सिकाई अभिबृद्धिको अपेक्षा पनि राखेका छन् । ‘पहिलो कुरा त विद्यालयको व्यवस्थापकीय पक्ष सुधार हुनु आवस्यक छ,’ मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा बिष्टले भनिन्, ‘त्यसपछि क्रमैसँग सिकाई अभिबृद्धिको कार्यक्रमहरु सोच्न सकिन्छ,’ उनले भनिन् । शिक्षण सिकाई क्रियाकलापको लागि विद्यालयमा देखिएका सबै कमजोरीको अन्त्य गर्नेगरी अघि बढ्ने उपप्रमुख बिष्टले बताइन् ।
सिकाई अभिबृद्धिका लागि विद्यार्थी र शिक्षकलाई पुरस्कारका व्यवस्था समेत गरिएको यहाँका पालिकाहरुले जनाउका छन् । ‘सेवा सुबिधा र विद्यालयलाई पालिकाबाट हुने सबै सहयोग गर्छाै, गर्दै आएका पनि छौँ, र पठनपाठनमा उत्कृष्ट शिक्षक र पालिकामा सबै भन्दा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको समेत व्यवस्था गरेका छौँ,’ पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले भने ।