बैतडी ।
बच्चा जन्मेपछी स्वास्थ्यकर्मीले घरमै भेट्नुपर्ने कार्यक्रमको दशरथचन्द नगरपालिकाको समिक्षा गरिएको छ ।
नगरपालिका हलमा भएको समिक्षा कार्यक्रममा नगर भित्र रहेका सम्पुर्ण स्वास्थ्य संस्थाका प्रमुखहरु सहभागी थिए ।
स्वास्थ्य संस्थाहरुले आ–आफ्नो विवरण पेश गरेकाछन् । दशरथचन्द नगरपालिकामा उक्त विवरण सन्तोशजनक रहेको स्वास्थ्य साखा संयोजक प्रमानन्द भट्टले बताए ।
बच्चा जन्मेको दिन, २४ घण्टाभित्र, तेश्रो दिन, ७ देखी १४दिन र ४२ दिनमा स्वास्थ्यकर्मीले नर्सीङ्ग स्टाफले भेट्नुपर्छ ।
नगर प्रमुख पुष्करराज जोशी लख्खाभाईको अध्यक्षतामा समिक्षा कार्यक्रम भएको हो ।
स्वास्थ्य क्षेत्रमा १ नम्बर बनाउछौँ : लख्खाभाई
दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशी लख्खाभाईले दशरथचन्द नगरपालिकालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने बताएकाछन् । समिक्षा कार्यक्रमको सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रका भौतिक तथा प्राविधिक समस्याहरु हटाउन प्रतिवद्ध रहेको बताए ।
उनले भने, ‘हामी हरेक स्वास्थ्य संस्थाको अनुगमन तथा छड्के अनुगमन गर्दै आएका छौँ, यसलाई निरन्तर राख्छौँ । स्वास्थ्य संस्थाहरुका समस्याहरु बुझेका छौँ, स्वास्थ्यकर्मीहरुको राम्रो काम र लापरवाहीलाई समेत मुल्यांकन गरिरहेका छौँ । कतिपय समस्याहरु समाधान गरेका छौँ, कतिपय बाँकी छन् । श्रोत साधनले भ्याएका आवश्यकताहरु पुर्ति गर्नमा हाम्रो ध्यान रहेको छ ।’
नगर प्रमुख लख्खाभाईले स्वास्थ्यकर्मीहरुलाई समयको पालना गर्दै आफ्नो काममा खटिन निर्देशन दिए । काम गर्ने क्रममा कतैबाट प्रभावीत पार्ने कृयाकलाप भएमा सिधै आफुलाई सम्पर्क गरेमा तत्काल समाधान गरिने बताए ।