बैतडी ।
बैतडीकी एक महिलाले फरक–फरक नामबाट २ नागरिकता लिएको पाइएको छ । उनको पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लख गरिएकोमा दोश्रो नागरिकतामा भिमदत्त नगरपालिका–५ कञ्चनपूर उल्लेख गरिएको छ ।
उनको २ नागरिकता मात्रै नभई २ नाम, २ पती र जन्ममिति समेत २ फरक–फरक उल्लेख भएको पाइएको छ ।
उनको पहिलो नागरिकतामा नाम किस्मती देवी चन्द, ना.प्र.न.७३३०१३/४३४, जारी मिति २०६३/१०/८ बैतडी, जन्ममिति २०४६/५/२५ र पतिको नाम बिरेन्द्र चन्द उल्लेख गरिएको छ ।
यसैगरी दोश्रो नागरिकतामा नाम कलावती चन्द, जन्ममिति २०३९÷११÷१०, ना.प्र.न. ७५१००१/१३१२६, जारी मिति २०६७/४/२० कञ्चनपूर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भिमदत्त नगरपालिका–५ कञ्चनपूर उल्लेख गरिएको छ ।
दोश्रो बिवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जवरजस्ती पुरानै श्रीमती"कलावती चन्द"को नाम राखेर किस्मतीको नयाँ नागरिकता बनाएका हुन् ।
२ नागरिकताका बिषयमा बैशाख २८ गते कञ्चनपूरमा मुद्धा दर्ता भएपछि उनलाई कञ्चपुर झिकाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अहिले दोहोरो नागरिकता लिने चन्दमाथी कारवाही प्रकृया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले भन्नुभयो, ‘पक्राउका लागि कञ्चनपूरबाट चिठी आएकोमा हामीले सम्बन्धीत चौकीलाई ताकेता गरेको केहि समयपछी कञ्चनपूर प्रहरीमा उपस्थीत भएको भन्ने खबर आयो । कारवाही प्रकृया अघि बढेको छ ।’ उनले दोहोरो नागरिकताको पटक–पटक दुरुपयोग समेत गरेको पाइएको छ ।
कञ्चनपूर प्रहरीले दोहोरा नागरिकता लिने महिला र उनका पतीलाई नियन्त्रणमा राखेको जनाएको छ । पतीले आफ्नो नामबाट नागरिकता बनाएकाले उनलाई समेत पक्राउ गरेको प्रहरीको भनाई छ । सोमबार नियन्त्रणमा लिएका उनिहरुमाथी अनुसन्धानका लागि म्याद थप गरि नागरिकता ऐन अनुसार कारवाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।