बैतडीमा कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । जिल्लाको पाटन नगरपालिका–८ खोडपेमा ४५ लाखको लागतमा निर्माण भएको १० टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएको छैन ।
किसानहरूले उत्पादन गरेका कृषि उपजलाई भण्डारण गरि ताजै राख्न मिल्ने कोल्ड स्टोर सञ्चालनमा आउन नसकेको खोडपेका किसान नरबहादुर बिष्टले बताए । ‘तरकारी लगायतका कृषि उपजहरूको किसानहरूले बजार मूल्य नपाएको अवस्थामा राख्न हुन्थ्यो’ बिष्टले भने,‘आफ्नै ठाउँमा बनेको कोल्ड स्टोर सञ्चालनमा नआउँदा तरकारी बारीमै कुहिने तथा सस्तो मूल्यमा बिक्री गर्नुपरेको छ ।’
पाटन नगरपालिकाका वडा नम्बर ८, ९ र १० तरकारी पकेट क्षेत्र हुन् । यहाँका किसानहरूले आलु, काउली, बन्दा, टमाटर लगायतका तरकारी उत्पादन गर्दै आएका छन् । एक वर्षदेखि बन्द रहेको कोल्ड स्टोर सञ्चालनका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा किसानहरूले समस्या भोग्दै आएको स्थानीय वीर सिंह महराले बताए ।
कोल्ड स्टोर सञ्चालनमा नआउँदा यहाँका किसानहरूले तरकारीको बिउ भण्डारणका लागि पनि बाहिर जानुपरेको उहाँको जानकारी दिए । ‘वास्तविक व्यक्तिहरूले अनुदान पाइरहेका छैनन’् उनले भने ‘पहुँचका आधारमा अनुदानको दुरुपयोग भैरहेको छ ।’
कृषि ज्ञान केन्द्र बैतडीको १५ लाख अनुदान तथा दोगडाकेदार भुमीराज कोल्ड स्टोरको बाँकी लगानीमा १० टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको थियो । दोगडाकेदार भूमिराज कोल्डस्टोरका सञ्चालक ललित मोहन भट्टलाई कोल्ड स्टोर सञ्चालनका लागि पटकपटक आग्रह गर्दा समेत सञ्चालनमा नआएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
कोल्ड स्टोर सञ्चालन गर्न आग्रह गरिरहेको विद्युत सेवा नियमित नभएको भन्दै टार्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख घनश्याम चौधरीले बताए ।
दोगडाकेदार भूमीराज कोल्ड स्टोरका सञ्चालक ललित मोहन भट्टले बलदेव भट्टसँग सहकार्य गरेर कृषि ज्ञान केन्द्र डडेल्धुरा मार्फत फलफूल प्रशोधन केन्द्रका नाम अनुदान लिएर काम नगरेको बुझिएको छ । बैंकिङ काम नहुँदा जेनेरेटर लगायतका अन्य अत्यावश्यकीय सामानहरू खरिद गर्न नसकिएकाले एकदुई हप्ता भित्रै कोल्ड स्टार सञ्चालनमा ल्याइने सञ्चालक ललित मोहन भट्टले बताए ।