बैतडी- बैतडीका २० सामुदायिक वनमा डढेलो लागेको छ । यो वर्ष सामुदायिक वनको साढे तीन सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेको भएपनि सामुदायिक वनमा आगलागीका घटनाहरूमा कमी आउन सकेको छैन । ३४२ दशमलव ५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।
जिल्ला डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले सिगास, पाटन र तल्लोस्वराड क्षेत्रका सामुदायिक वन क्षेत्रमा बढी जसो डढेलो लाग्ने गरेको बताए । उनले सो क्षेत्रमा सल्लेरी वन भएका कारण बढीजसो आगलागीका घटनाहरु हुने गरेको जानकारी दिए ।
प्रमुख कँडेलका अनुसार सबैभन्दा बढी सिगास गाउँपालिका अन्तर्गतका ८ सामुदायिक वनको २९६ हेक्टर क्षेत्रमा डढेलो लागेको छ । यस्तै पाटनमा २२, मेलौलीको १६ हेक्टर, दशरथचन्द नगरपालिकाको २ दशमलव ५ हेक्टर वनक्षेत्रमा आगो लागेको हो । यसैगरी पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन÷तीन हेक्टर वन क्षेत्रमा डडेलो लागेको छ ।
जिल्ला डिभिजन वन कार्याल मार्फत डढेलो नियन्त्रण सम्बन्धी विद्यालय शिक्षा सँगै स्थानीय तहका प्रतिनिधिहरू संग बेलाबेला छलफल जस्ता कार्यक्रमहरू सञ्चालन हुने गरेको कार्यालय प्रमुख कडेँलले बताए । जिल्लाका स्थानीयहरुले भने डढेलो नियन्त्रण सम्बन्धी चासो देखाएका छैनन् ।
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिले विभिन्न जनचेतामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए । उनले भने ‘पालिका भित्र डढेलो नियन्त्रणका लागि भनेर केही कार्यक्रमहरू छैनन् तर सामुदायिक वन समितिका पदाधिकारी र डिभिजन वन कार्यालयबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।’
सामुदायिक वनमा डढेलो हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएको स्थानीयवासीले बताएका छन् । वनमा भएको डढेलोका कारण वातावरणसमेत प्रदूषण हुने गरेको छ ।