बैतडी
बैतडीको पाटन नगरपालिका वडा न.६ले वडा स्तरीय पत्रकार जनप्रतिनिधी सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
वडाअध्यक्ष राजेन्द्र बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख गौरी सिंह रावल रहेका थिए ।
कार्यक्रममा सरोकारवालाका साथै पत्रकारहरुको सहभागीता थियो । सम्वाद कार्यक्रममा उठेका जिज्ञासाहरुको मेयर रावल र वडाअध्यक्ष बिष्टले जवाफ दिएकाछन् । कार्यक्रममा त्रिपुरेस्वर स्थीत सुर्नया नदीमा पुल निर्माण कार्य अलपत्र रहेको बिषयमा छलफल गरिएको छ । सुर्नया नदीमा पुल निर्माण अलपत्र हुदाँ सवारी साधन नदीमा वारपार गर्न कठीन भएको छ । उक्त पुल ठेकेदारको लापरवाहीले अलपत्र अवस्थामा छ ।
उक्त पुल निर्माणका बिषयमा ठेकेदार संग छलफल भएको र असार भित्रै निर्माण गर्ने ठेकेदारको प्रतिवद्धता आएको नगर प्रमुख रावलको भनाई छ । उनले भने, ‘मैले उक्त बिषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएँ, कस्को कमजोरी हो उसलाई काम गर्न निर्देशन दिनुस् नत्र कारवाही गर्नुस् भनेको छु, यो बिषयमा आन्दोलन भएमा म पनि रोक्न सक्दैन् तपाइनै जिम्मा लिनुहोला भनेको छु । समस्या समाधानका लागि पहल गरिरहेको छु ।’
सम्वाद कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, योजनाको अनुगमन लगायतका बिषयमा छलफल भएको छ । कृषि तथा पशुपालन कार्यक्रमलाई प्रभावकारी बनाउन र सञ्चारमाध्यमबाट कार्यक्रम चलाउन सकिने नगर कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।
वडाको आयोजनामा गरिएको उक्त कार्यक्रमको सहजीकरण सुर्नया टाइम्सले गरेको थियो ।