बैतडी–डडेल्धुराको अजयमेरु गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिका भित्र उत्पादित कृषि उपजलाई ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।
किसानहरूले उत्पादन गरेको तरकारी लगायतका अन्य कृषि उपजहरूको ढुवानीका लागि समयमा नै ढुवानी नहुँदा समस्या भोक्दै आएका थिए । तरकारी तथा अन्य उपजको ढुवानीका लागि समयमा सवारी साधन नपाउने यदि पाइहाले भने पनि महँगो मूल्य तिर्न बाध्य किसानहरूलाई एम्बुलेन्सले सहज हुने भट्टले जानकारी दिए । उनले कृषि पेशामा आकर्षण बढाउन तथा उत्पादित बस्तुहरूलाई खेर जान नदिन एम्बुलेन्स सञ्चालन ल्याइएको बताए ।
अजयमेरु गाउँपालिकाका किसानहरूले आलु, टमाटर, प्याज, लसुन, अदुवा, काउली, बन्दा लगायतको उत्पादन गर्दै आएका छन् । बिहीबार गाउँपालिकाको कृषि एम्बुलेन्स सेवा व्यवस्थापन तथा सञ्चालन समितिले ढुवानी शुल्क समेत निर्धारण गरेको छ ।
पालिका भित्रका किसानहरूले उत्पादन गरेको कृषि उपजहरूको गाउँपालिका भित्र र सदरमुकाम डडेल्धुरा सम्म प्रति क्विन्टल एक सय निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै व्यापारी तथा जिल्ला बाहिरको हकमा प्रतिक्विन्टल प्रतिकिलोमिटर रु १० र कच्ची सडकखण्डमा रु १५ निर्धारण गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।
कृषि एम्बुलेन्स सेवा लिनका लागि किसानले चालक, कृषि तथा पशु शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने पालिकाले जनाएको छ।