बैतडी।
शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जिल्लाका विद्यालयहरुको अनुगमन कार्यलाई तिव्रता दिएको छ । बिहिबार जिल्लाको सिगास गाउँपालिका–२ मा रहेको अर्जुन माविको अनुगमन गरिएको छ । अनुगमन पछि सुझाव दिनुका साथै गाउँपालिकाभरीका विद्यालयका प्रधानाध्यापकहरु संग अन्तरक्रिया गरिएको छ । यो कार्यक्रम जिल्लाका १०ओटै स्थानियतहमा गरिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताए ।
इकाई प्रमुख अवस्थीको नेतृत्वमा केहि शिक्षा विदहरुले समेत कक्षा शिक्षण अवलोकन गरेका छन् ।
शिक्षण गर्ने शिक्षकहरुलाई पुर्व जानकारी बेगर शिक्षा अधिकारीहरु विद्यालयमा पुगेका हुन् । कक्षा शिक्षण अनुगमनमा पुगेका शिक्षा अधिकारी र शिक्षा विदहरुले पाठयोजना बेगर शिक्षण भैरहेको बताएकाछन् । शिक्षकहरुले अन्तरक्रियात्मक कक्षा सञ्चालन गरेको पाइएपनी शैक्षिक सामग्रीको न्युन मात्रामा प्रयोग भएको सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेश प्रसाद भट्टले बताए । केहि कक्षाका शिक्षकहरुले विद्यार्थीलाई पिट्ने समेत गरेकाले आफ्नो बानी सुधार गर्न सुझाव दिएकाछन् ।
शैक्षिक क्रियाकलापको अनुगमनपछि शिक्षक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने गरिएको छ ।
अन्तरक्रियाका क्रममा शिक्षकहरुले आफ्नो विद्यालयका समस्याहरु शिक्षा अधिकारीहरुलाई सुनाउने गरेकाछन् ।
प्रधानाध्यापकहरुले विद्यालयका भौतिक पुर्वाधार देखि शिक्षक दरवन्दी अभावका बिषयमा शिक्षा अधिकारीहरुलाई जानकारी गराउने गरेकाछन् ।
शिक्षकहरुले दरवन्दी मिलान प्रमुख समस्याका रुपमा रहेको बताएकाछन् । जिल्लाका केहि विद्यालयमा अनावश्यक दरवन्दी भएपनि दुर्गमका विद्यालय दरवन्दी विहिन भएको बताएकाछन् । भुमिराज मावी सिगासका प्रधानाध्यापक चक्र धामीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नका लागि आर्थिक अभाव रहेको बताए । शैक्षिक सामग्री खरिद र पुस्तकालय स्थापनाका लागि बजेट प्राप्त नभएको गुनासो सुनाए । विद्यालयका खेलकूद सञ्चालन गर्न खेल सामग्री अभाव भएको उनको भनाई छ ।
शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका आधा स्थानियतहरुमा अनुगमन सम्पन्न गरि अन्यमा अनुगमन गरिरहेको इकाइका प्रा.स. पुस्कर शर्माले बताए ।